काठमाडौं। संसदीय सुनुवाइ (संयुक्त) समितिले विभिन्न मित्रराष्ट्रका लागि प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूसँग छलफल सुरु गरेको छ। समितिको बैठकमा प्राप्त उजुरीबारे विस्तृत जानकारी लिन उजुरीकर्ताहरूलाई बोलाइएको थियो। समितिका अनुसार विभिन्न १३ वटा देशका लागि सिफारिस गरिएका राजदूतहरूविरुद्ध चार जनाबाट कुल सातवटा उजुरी प्राप्त भएका छन्।
बैठकमा विशेषगरी भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरासँग सम्बन्धित उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको थियो।
छलफलका क्रममा समिति सभापति बोधनारायण श्रेष्ठले जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापाविरुद्ध उजुरी दिने उज्ज्वलकृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनीसँगको प्रक्रिया तत्कालका लागि अघि नबढाइएको जानकारी गराउनुभयो। उनी पछि सम्पर्कमा आएमा मात्र छलफल गरिने समितिले जनाएको छ। त्यस्तै, साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारविरुद्ध परेका उजुरीमध्ये उजुरीकर्ता रमेश परियारको उपस्थितिबारे चासो राखिएको थियो भने अर्को उजुरीका हकमा वारेसनामा लिएर प्रतिनिधि उपस्थित भएका थिए।
यसैबीच, भारतका लागि प्रस्तावित राजदूत डा. पाण्डेविरुद्ध अस्ट्रेलियाबाट उजुरी दिने दीपा भण्डारीले आफू स्वयं उपस्थित हुन असमर्थ रहेको जनाउँदै इमेलमार्फत उजुरी पढेर सुनाउन अनुरोध गरेकी थिइन्। समितिले उक्त इमेललाई अभिलेखमा राख्दै प्रस्तावित राजदूतहरूविरुद्धको सुनुवाइ प्रक्रियालाई अघि बढाएको छ।