काठमाडौँ । नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयबाट सुरक्षाकर्मी फिर्ता भएका छन्। च्यासलस्थित पार्टी कार्यालयमा सोमबारदेखि सशस्त्र प्रहरी बलको टोली फर्किएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।
उनकाअनुसार यसअघि पाँच जना सशस्त्र प्रहरी २४ सैं घण्टा खटिँदै आएका थिए। ‘कहिले बढी हुन्थ्यो, कहिले कम तर पाँच जना भन्दा कम खटिएका थिएनन्,’ उनले भने, ‘पार्टी कार्यालय च्यासलमा बसेदेखि नै त्यहाँ सशस्त्र प्रहरी नियमित हुन्थे। तर अहिले सुरक्षाकर्मी छैनन्।’
एमालेको पार्टी कार्यालय च्यासलमा २०७८ देखि सञ्चालनमा छ। आइतबारसम्म सशस्त्रको टोली सुरक्षाका लागि खटिएको थियो। तर आज फर्किएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी नेत्रप्रसाद कार्कीले कुनै पनि पार्टी कार्यालयमा सुरक्षाकर्मी खटाउने प्रोटोकल नरहेको र यसअघि पनि नखटाइएको दाबी गरे। ‘कुनै पनि पार्टी कार्यालयमा खटाउने प्रोटोकल छैन। खटाएका पनि छैनौं,’ उनले भने।
केही दिनअघि गृह मन्त्रालयले सूचना जारी गर्दै भीभीआइपी र भिआइपीको सुरक्षामा तोकिएको मापदण्डभन्दा बढी सुरक्षाकर्मी खटिएकाहरूलाई आफ्नो दरबन्दीमा खटिन निर्देशन दिएको थियो।