काठमाडौं। केयरगिभरका रूपमा इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
यस प्रकरणमा प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत खड्कासहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्य व्यक्तिमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ रहेका छन्।
अदालतले खड्कालाई थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको उल्लेख गरेको छ। अन्य प्रतिवादीको बयानमा खड्काको संलग्नताबारे उल्लेख नभएको र पीडितले दिएको जाहेरीमा पनि उनले रकम लिएको वा ठगीमा संलग्न रहेको पुष्टि गर्ने तथ्य नदेखिएको आदेशमा जनाइएको छ।
प्रहरीले सुरुमा पक्राउ परेका व्यक्तिहरूमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको र घटना संगठित रूपमा भएको देखिएपछि प्रहरीले संगठित अपराधसम्बन्धी कसुरसमेत थप गरेको थियो।