भरतपुर विमानस्थल १० दिन बन्द हुने

भरतपुर विमानस्थल १० दिन बन्द  हुने

चितवन : चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । करिब १२ सय मिटरको धावनमार्ग रनवे ओभरले तथा पार्किङ विस्तारका सुचना जारी गर्दै मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुने बन्द हुने भएको छ ।

विमानस्थलको रनवे ठाउँ(ठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योती थापाले बताए । गत वर्षकै कार्यक्रमको निरन्तरता अन्तर्गत रनवे ओभरले र पार्किङ विस्तार गर्न लागिएको नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । उक्त धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैयाँ लागत अनुमान गरिएको छ ।

झण्डै २० वर्षदेखि विमानस्थलको धावन मार्गमा ओभरले गरिएको छैन । रनवेमा विमानलाई समस्या हुँदै आएको देखेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष सुरु हुनुभन्दा अगाडि पर्यटकहरुको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए । त्यसका लागि विमान कम्पनी तथा अन्य निकायसँग सहमती गरिएको विमानस्थल कार्यालयका प्रमुख पवन गौत्तमले जानकारी दिए ।