सर्लाही । सर्लाही प्रहरीले ३३० किलोग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १:१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सूचनालगत्तै प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको हो। साथै, सोही स्थानमा २६ वटा बोरामा राखिएको करिब १३ क्विन्टल अदुवा समेत फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट गाँजा ओसारपसारमा प्रयोग भएको बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअप गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गाँजा, पिकअप गाडी र पक्राउ परेका अमरजित राउतलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।