काठमाडौँ। चीन भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले बेइजिङमा चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग बिहीबार भेटवार्ता गरेका छन्।
नेपाली सेनाका अनुसार उक्त भेटवार्ताका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय आपसी हित तथा सैनिक सम्बन्धका विविध आयामबारे गहन छलफल भएको छ।
आफ्नो चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) को समेत निरीक्षण भ्रमण गरी त्यहाँ सञ्चालित शैक्षिक कार्यक्रम तथा अन्य गतिविधिबारे जानकारी लिएका छन्। साथै, उनले १३औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन सत्रमा पनि सहभागिता जनाएका छन्।
प्रधान सेनापति सिग्देलको यस भ्रमणले नेपाल र चीनबीचको सैनिक सम्बन्ध, उच्चस्तरीय संवाद र पारस्परिक सहकार्यलाई थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।