काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनतिर अघि बढेपछि आफू कसैप्रति आरोप प्रत्यारोप गर्न नचाहने बताएका छन्। आज एक अपिल जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयत्न सफल हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिन । हामी उठ्छौँ जुट्छौँ र जित्छौँ, यही भरोसा र विश्वासबाट साधारण भन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ । यस अभियानमा म गाउँ टोलदेखी केन्द्र हुँदै विदेश सम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ सङ्कल्पका साथ यस अभियान (पार्टी एकता) मा जुट्न हार्दिक अनुरोध गर्दछु ।’
कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई फरकरुपमा बुझ्न नसक्ने भन्दै संवाद लिएर कांग्रेस एकताको लागि लाग्ने बताए। उनले अगाडि भनेका छन्, ‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन । म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइ माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन ।’
उनले पार्टीभित्रको विवादमा आफू मध्यमार्गी भूमिकामा रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘मलाई थाहा छ मध्यमार्ग कठिन मार्ग हो, यही मार्ग सत्यको बाटो हो । यही मार्ग कांग्रेसको मार्ग हो, र यही मार्ग कांग्रेसको जीवन दर्शन हो । म आरोपित भएर, भइरहेको पनि छु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।’