स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामीको उपचारमै समस्या

स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामीको उपचारमै समस्या

लहान : सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ । मौसममा आएको परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला स्वास्थ्य संस्थामा अत्यावश्क औषधिको अभाव भएको हो ।

समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा स्वास्थ्यचौकीमा औषधिको अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य छन् । विगत छ महिनादेखि गाउँपालिकाले औषधि खरीद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको आभाव भएको हो ।

अहिले शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्यान्डेजसम्म नरहेको स्वास्थ्यचौकी सीतापुरका प्रमुख झौली साहको भनाइ छ । उहाँका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एन्टिबायोटिक्स स्वास्थ्यचौकीमा अहिले छैन । अहिले दैनिक २०:२५ बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।