भिजिट भिसा प्रकरण

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद बैठक

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद बैठक

काठमाडाैं। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन्।

बिहीबार पनि संसद बैठक सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए।

सांसद नेपालीले लिपुलेक र कालापानीलगायतको भूभाग छिमेकी देशहरूले प्रयोग गर्ने भन्ने कुरा आएको भन्दै नेपालको भूभागको संरक्षण गर्नको लागि सरकारले यथाशीघ्र पहल गर्नेछ भन्ने विश्वास व्यक्त गरे।

उनले भ्रष्टाचार नियन्त्रण गरेर जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्ने सरकार मानव तस्करी गर्नेको संरक्षणमा लागेको आरोप लगाए। सांसद नेपालीले उपसभामुख इन्दिरा रानामगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जिकिर गरे।

उनले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म विरोध कायमै रहने जानकारी दिए। त्यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समिति नै बनाउनुपर्ने बताए। उनले सभामुखले पहल गरिदिँदा आफूहरुको माग सम्बोधन हुनसक्ने उनको भनाइ छ।

सांसद प्रधानले विचौलियाहरुको तन्त्रले जालो फिंजाएको भन्दै सवैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिए। प्रधानले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।