नेपालीले खान्छन् वार्षिक ५५ अर्बको औषधि, झण्डै आधा उपत्यका भित्र नै खपत

नेपालीले खान्छन् वार्षिक ५५ अर्बको औषधि, झण्डै आधा  उपत्यका भित्र नै खपत

काठमाण्डौ : नेपालमा वाषिर्क खपत हुने औषधिको हिस्सा झण्डै ३५ अर्बले बढेको छ । औषधि व्यवस्था विभाग र औषधि व्यवसायी संघको तथ्यांकलाई आधार मान्दा बर्सेनि १० प्रतिशतको दरमा यसको खपत बढ्ने गरेको पाइएको छ । यसको पनि कुल खपतको ४० प्रतिशतको हाराहारीमा काठमाडौं उपत्यकाबासीले नै खपत गर्ने गरेका छन् ।

विभागका महानिर्देशक पानबहादुर क्षेत्री विशेषगरी शहरी भेगका मानिसहरुले धेरै औषधि खपत गर्ने गरेको बताउँछन् । पछिल्लो समय नयाँ नयाँ किसिमका रोगहरुको समेत पहिचान भएकोले यसको खपत केवल मूल्य वृद्धिका कारणमात्रै नभएर बिरामीको संख्यासमेत बढेको बताउँछन् । यद्यपि, औषधि बिक्री भएको रकमको आधारमा यसको खपत कति भयो भनेर तथ्यांक सार्वजनिक गरिने भएकोले यसमा मूल्य वृद्धिको पनि योगदान हुने गर्छ ।
औषधि व्यवस्था विभाग र नेपाल औषधि व्यवसायी संघका अनुसार अहिले नेपालमा बर्सेनि ५० देखि ५५ अर्ब रुपैयाँसम्मको औषधि खपत हुने गरेको छ । यो तथ्यांक कुनै अध्ययनबाट निस्किएको विवरण नभई व्यापारको आधारमा गरिएको अनुमान मात्रै हो ।

यो तथ्यांक हरेक वर्ष फरकफरक तरिकाले निकाल्ने गरिन्छ । औषधि व्यवस्था विभागले हरेक वर्ष आर्थिक वृद्धि र मूल्य वृद्धिको दरमा औषधिको खपतको तथ्यांक अनुमान गर्ने गरेको छ । महानिर्देशक क्षत्रीले औषधिको खपतको अवस्था हरेक वर्षको मूल्य वृद्धि र आर्थिक वृद्धिको आधारमा निकालिने जानकारी दिए । खपतकै बारेमा अध्ययन नभएको भन्दै हरेक वर्ष १० प्रतिशतको हाराहारीमा औषधिको खपत बढ्ने अनुमान गरिने बताए । उनले ५० अर्बको हाराहारीमा औषधिको खपत हुने गरेको अनुमान पेस गरे ।

नेपाल औषधि व्यवसायी संघले विभागभन्दा केही वैज्ञानिक रुपमा औषधि खपतको हिस्सा निकाल्ने गरेको भए पनि यसबारे संघको तथ्यांकसमेत स्पष्ट छैन । संघले आफ्नो खपत र विदेशी औैषधि आयातको आधारमा यसको तथ्यांक निकाल्ने गर्छ । श्रेष्ठका अनुसार कुल औषधि खपतको ४५ प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी ५५ प्रतिशत नेपाल बाहिरबाट आयात हुने गरेको छ ।