दलभित्र ‘नीति मान्ने नेतृत्व नमान्ने’ गम्भीर विचलन

दलभित्र ‘नीति मान्ने नेतृत्व नमान्ने’ गम्भीर विचलन

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् भने झलनाथ खनाल सम्मानित नेता हुन् । यी दुई नेताबीच सके दैनिक नत्र सातामा धेरैपटक आपसमा भेटेर पार्टी नीति र संगठनका विषयमा गफ हुनुपर्ने हो ।

तर, मंगलबार यी दुई नेता भेटेर भएको एउटा सहमति भने गज्जब लाग्छ । भेटपछि दुवै नेतानिकटलाई उद्धृत गर्दै सहमति सार्वजनिक भयो– अबदेखि एकअर्काका विरुद्ध नबोल्ने !

शीर्ष तहमा सधैं विश्वासको संकट

नेकपा एसमा मात्र होइन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको हुने हरेकपटकका भेटमा पनि सहमति भएको बताइन्छ । जबकि यी दुई नेता पनि पार्टी नीति र संगठन निर्माणका विषयमा दैनिक या सातामा धेरैपटक भेटघाट गरिरहनुपर्ने नेता हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्रदेखि अधिकांश राजनीतिक दलका नेतृत्व र शीर्ष तहका नेताबीच भेटघाटका समाचार बन्छन् । तर, ती समाचार पार्टीलाई बलियो बनाउनेमा भन्दा आपसी तिक्तता पोख्ने, बोक्ने र रोक्नेमा मात्रै सीमित हुने गरेका छन् । यी घटनाले राजनीतिक दलका नेतृत्व र शीर्ष नेताबीच चरम विश्वासको संकट रहेको देखाएको छ ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच केन्द्रीय समिति बैठकको सरगर्मीमा भेटघाट भएको विषय पनि समाचार बन्यो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीचका हरेकजसो भेटघाट आन्तरिक पार्टी जीवन र राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिकामा भन्दा एकअर्कामा तुष पोख्ने र गुनासो गर्नेमा मात्रै सीमित छन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीचको पार्टी कार्यालयको भेटघाट र पार्टीभित्रै हुने सक्रियताको विषय त राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय चासोको विषय नै बन्यो ।

अनुशासन होइन गर्वको विषय बन्दै छ गुट
नेपाली राजनीतिमा एउटै दलभित्रका नेताका बीचमा हुने चर्को आरोप–प्रत्यारोप, गालीगलौज र छेडखानी नौलो विषय होइन ।

एउटै दलका नेताले पार्टीका आन्तरिक समीक्षा बैठकहरूमा बाहेक एकअर्काविरुद्ध नबोल्ने विषय नैतिक र अनुशासनको कारबाहीको विषय हुनुपर्ने हो ।

तर, एउटै दलका नेतृत्व तहका र भावी नेतृत्वको दाबी गरेका र विगतमा नेतृत्वसँग पराजित भएका नेताबीचको सम्बन्ध कुनै पनि दलमा सुमधुर छैन । यसको एक मात्र कारण एकआपसमा चरम अविश्वास भएको नेताहरू नै स्वीकार गर्छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको र्पाीभित्र पनि किचलो देखिएको छ । मंगलबार यस दलका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाबीचको आन्तरिक कलह सार्वजनिक मात्र भएन, झाले पार्टी नै छाडेर हिँडेको घोषणासमेत गरे ।

दुई नेताबीचका आन्तरिक कलह र अविश्वासकै कारण झा नयाँ दल खोल्ने निर्णयसम्ममा पुगेको तमलोपाका नेताहरूको भनाइ छ । यस पार्टीमा पनि पार्टी नेताहरूबीचको अविश्वास, संवाद र सहमतिका प्रयासदेखि विभाजनसम्मको अवस्था राजनीतिमा देखिएको विश्वासको संकट नै भएको राजनीतिकर्मीहरू बताउँछन् ।

होटल, घर हुँदै मिडियासम्म पुगेर विष बमन
 

पार्टीका नेताहरूबीच विमति भए छलफल गर्ने, आन्तरिक दन्तबझान गर्ने, सच्याउने, आलोचित हुने फोरम उनीहरूका आन्तरिक बैठक हुँदाहुँदै नेताहरू होटल, व्यापारी या दलका कार्यकर्ताको निवास र मिडियामा पुगेर एकअर्काविरुद्ध बोल्ने संस्कार मौलाएको छ ।

पछिल्ला दिन राजनीतिक पार्टीहरू आफ्ना आन्तरिक बैठक, नियमित फोरम तथा औपचारिक र परिभाषित संरचनाभन्दा शक्ति समूहका नेताबीचको सहमतिलाई आधिकारिक मान्न थालेका छन् ।

राजनीतिमा देखिएको यो रोग केन्द्रमा मात्र नभइ प्रदेशतिरसम्म पुगेको छ । बागमती प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषय सत्ता साझेदारीको सहमतिको विषय वा कांग्रेसको संसदीय दलको विषयभन्दा पनि इन्द्रबहादुर बानियाँ समूह र बहादुरसिंह लामा समूहको सम्झौता वा संघर्षको विषय बन्नुले यस रोगको बिस्तार प्रदेशसम्म पुगेको प्रमाणित भएको छ ।

किन हुन्छ विश्वासको संकट ?
 

पार्टीभित्र संरचनात्मक तथा नीतिगत रूपमा देखिने अविश्वासले एउटै नीति तथा साझा नेतृत्वमा पार्टीभित्र समस्या छ भन्ने स्पष्ट देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

एउटै पार्टीमा पनि सिद्धान्त फरक मान्दा यस्तो अन्तरसंघर्ष र असमझदारी आउने र संवादबाट यसको व्यवस्थापन भएर पार्टी अघि बढ्ने विश्लेषकहरू बताउँछन् ।

राजनीतिको स्वाभाविक परिवेशमा यस्ता अवस्था भए पनि नेपाली परिवेशमा भने पार्टी एउटै भए पनि फरक गुटका कारण यस्ता अविश्वास सिर्जना हुने गरेको र नेता भेटेका विषय समाचार बन्ने अवस्था आएको राजनीतिक विश्लेषक सुबोधराज प्याकुरेल बताउँछन् ।

पार्टी महाधिवेशनमा निर्माण भएको गुट स्थायी बन्दैजाँदा पनि एउटै दलका जिम्मेवार नेताहरू प्रतिपक्षीजस्तो देखिन पुगेको उनको भनाइ छ ।

राजधानी दैनिकबाट