०८४ पछि पनि बन्ने सरकार एमाले र कांग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौं: प्रधानमन्त्री ओली

०८४ पछि पनि बन्ने सरकार एमाले र कांग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौं: प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अरु कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ कि भन्ने नसोच्न आग्रह गरे। ०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि काँग्रेसले बनाउने बताए। दुवै पार्टीको बहुमत आउन नसके काँग्रेस र एमाले मिलेरै सरकार बनाउने बताए। टालाटुली बटुली गरेर सरकार बनाउने काममा दुवै पार्टी नलाग्ने उनको दाबी छ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु ढुक्कले काम गर्न सक्नुहुन्छ। पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो। अहिले त्यो समस्या छैन। अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ। अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन। मन्त्री त एउटै पार्टीको सरकार भएपनि मन्त्री त फेरिराख्छ। अहिलेको सरकार स्थिर छ। सरकार बनावटको हिसावले दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला पार्टीहरु मिलेर खास परिस्थितिमा खास उद्देश्यका लागि बनेको हो। तपाईंहरु ढुक्कले काम गर्नुस्। सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ। आज बिहान आएर मात्रै मलाई एक जनाले भन्योः नेपाली काँग्रेसभित्र एकदम ठूलो समस्या हुन भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाएको थियो। यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । यो सरकार स्थिर सरकार हो । यो अरु अढाई वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरु यो नठान्नुस् की कोही अर्को । तपाईंहरुलाई अहिले नै भनिदिन्छ, कि एमालेले बनाउँछ, एमालेले बनाएर भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले–काँगेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन । त्यसपछि पनि त्यही हो । तीन वटा मात्रै विकल्प छन् । एमालेलाई पनि लागेको छ, हामी बहुमत ल्याउँछौँ, ल्याउना बल गर्छौंं, काँग्रेसलाई पनि लागेको छ । बहुमत ल्याउन खोज्छ । दुईको नै आएन भने कोही न कोही सँग त मिल्नैपर्छ । अरु केके कोको भेला गरेर सरकार बनाउँछ भन्ने नठान्नुहोला । मलाई लाग्छ काँग्रेसले पनि केके केके भेला गरेर..। सारा टालाटुली बटुलेर पुतली बनाउने कुरामा हामी छैनौँ।’

प्रधानमन्त्री ओलीले बाँकी पूरा कार्यकाल काँग्रेस—एमालेको सरकार रहने बताए।