राज्य व्यवस्था समिति सभापतिबाट रामहरिले दिए राजीनामा

राज्य व्यवस्था समिति सभापतिबाट रामहरिले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले राजीनामाको घोषणा गरेका हुन्।

‘कुलिङ अफ पिरियड’ प्रकरणमा मुछिएर बिबादित बनेका खतिवडाले राजीनामा दिएका छन्।

राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकाल्दै खतिवडालाई प्रमुख जिम्मेवार ठहर गरेको थियो।

राजीनामा दिँदै खतिवडाले आफू सुरुदेखि सरकारी कर्मचारीका लागि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको धारणा राखेका छन्। उनले आफू आगामी दिनमा समेत यस विचारमा अडिग रहने बताएका छन्।

‘सरकारी कर्मचारीलाई अवकाश लगत्तै संवैधानिक र कुटनीतिक नियुक्ति दिनु हुँदैन। यसो गर्दा सरकारको कामकारबाही प्रभावित हुने र भविष्यमा पाउने पदका लागि कर्मचारी रहँदै गलत कार्य हुन सक्ने जोखिम रहन्छ,’ उनले भने। आफूले गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति लागेको उनले प्रस्ट पारेका थिए।

सर्वसम्मत रुपमै सरकारी कर्मचारीका लागि दुई वर्ष कुलिङ अफ पिरियडको प्रावधान राखिएको उनले बताए। विधेयकमाथि विशिष्ट श्रेणीका कर्मचारीको चलखेल भएको उनको आरोफ छ।

‘राज्य व्यवस्था समितिको विधायिकी मनसाय विपरीत विधेयकको प्रतिवेदन तयार छ। प्रतिवेदन लेखन कार्यमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला मन्त्रालयका कर्मचारीहरू संलग्न छन्,’ उनले भने।

उनले आफू एक इमान्दार जनप्रतिनिधि भएको र आफूबाट त्रुटि नभएको दाबी गरेका छन्। ‘निजामती विधेयक (कुलिङ पिरियड) मा जुन दिन त्रुटि भएको बाहिर आएको थियो, त्यसै दिन मैले गाडीलगायत सुविधा बुझाइसकेको थिएँ। मबाट र समितिबाट त्रुटि भएको होइन। यस्ता त्रुटि अब अन्तिम हुनेछन् भन्ने विश्वास छ,’ उनले भने।

छानबिन समितिले आफूलाई दोषी नठहर्‍याएको उनको भनाइ छ। ‘रामहरि खतिवडा दोषी भनेर किटान गरेको छैन। तर, किसुनजीबाट दीक्षित हो म। आजको दिनमा पदलाई भन्दा प्रश्नलाई माथि राखेर हेरेको छु सभामुख महोदय। राज्य व्यवस्था समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु,’ उनले भने।

विधेयकमा त्रुटि भएको विषय सार्वजनिक भएपछि नेपाली कांग्रेसका सांसद जीवन परियार नेतृत्वमा छानबिन समिति गठन भएको थियो। उक्त समितिले सभापति खतिवडालाई राजनीतिक र नैतिक जिम्मेवार ठहर्‍याएको थियो।