काठमाडौं, २४ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष तथा सांसद महन्थ ठाकुरले अधिकार र पहिचानको निम्ति थारु र मधेशीका सयौं सपुतहरुले बलिदानी दिएको बताएका छन् ।तर, उनीहरुले अधिकार नपाएको ठाकुरको गुनासो छ । उनले जनताले अस्वीकार गरेर राजतन्त्र ढलेको भन्दै अहिलेको शासनसत्ता पनि जनताले चाह्यो भने एकछिनमा ढालिदिन सक्ने बताए । उनलेसंघीयता देशमा आएपनी अधिकार नपाएको कारण आफूहरुले मोर्चा संघर्ष गर्नलाई बनाएको बताए ।
संघीय लोकतान्त्रिक मोर्चाको आज कैलालीको घोडाघोडीस्थित् सुखडमा वर्तमान राजनीतिक अवस्थाबारे, आयोजित जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले यस्तो बताएका हुन् । उनले अधिकार प्राप्तिको लागि जस्तोसुकै संघर्ष गर्नपनि आफूहरु तयार रहेको सुनाए ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको अध्यक्षता र महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले मन्तव्य राखेका छन। नाउपाका संरक्षक रेशम चौधरीले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा जित हात पार्ने विश्वास दिलाए ।उनले यो उपनिर्वाचन मोर्चाके लागि पनि एउटा परीक्षा भएको सुनाए ।
चौधरीले थारु–मधेशीलगायत सबै उत्पीडितहरुको एकताको निम्ति मोर्चा गठन गर्नुपरेको बताए।उनले थारु भएकै कारण आफुहरुसँग अन्याय र विभेद भएको गुनासो पोखे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले औपनिवेशिक सरकारको रवैयाले तीन करोड नेपाली जनता कोही पनि खुशी नरहेको बताए। धेरै मिहिनेतपश्चात् उत्पीडित जनताहरुको चाहनाअनुसार मोर्चा गठन भएकोले कसैले कमजोर बनाउने षड्यन्त्र गर्न नहुने झाको भनाई छ । राजनीतिक स्थिरता, अधिकार र पहिचानसहितको संविधान संशोधन, र आर्थिक उन्नतिको निम्ति मोर्चा अपरिहार्य रहेको झाको भनाई छ ।
कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष विद्युत बज्राचार्यले २५०÷३०० वर्षदेखि शासकवर्गले हामी उत्पीडित समुदायलाई विभाजन गरेर शासन गरिरहेकोले पहिचान पक्षधर एकठाँउमा उभिन मोर्चा गठन गरेको बताए ।
कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीका नेता उपेन्द्र उपाध्यायले देशमा भ्रष्टाचार र कुशासन बढेकोले त्यसको अन्त्यको निम्ति मोर्चा गठन गरेको बताए। कार्यक्रममा थारु संस्कृति झल्काउने विभिन्न नृत्यहरु प्रस्तुत गरिएको थियो। मोर्चाले देशव्यापी रुपमा जनजागरण अभियान संचालन गरिरहेको छ।