काठमाडौं। रास्वपाका सभापति रवि लामिछानेको कारागार बसाईमा कारागार प्रशासनले विभेद गरेको समाचार आएको छ । तर, रुपन्देही कारागार प्रशासनले आज विज्ञप्ती निकालेर कुनै विभेद नगरिएको र सामान्य कैदीहरुले पाउने सेवा सुविधा लामिछानेले पनि पाईरहेको दाबी गरेको छ ।
विभिन्न मिडिया र सोसल मिडियामा रविलाई अँध्यारो कालकोठरीमा राखिएको र गर्मीमा झ्यालसमेत बन्द गरिएको तस्विरसहितका समाचार प्रकाशित भएको छ । प्रहरीले रविलाइ राखिएको भनेर सार्वजनिक तस्विरसमेत सक्कली नभएको दाबी गरेको छ ।
कतिसम्म भने रविलाई कारागार कोठामा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालका नेताले एसी जडान गरिदिएको खुलेको छ । सो दलका अध्यक्ष तथा पूर्वमन्त्री हृयदेश त्रिपाठीले नै यो खुलासा गरेका हुन् । उनी पनि रविलाई भेट्न कारागारमै पुग्ने नेताहरुमध्ये पर्छन् ।
रविको कारागार कोठामा आफ्नो पार्टीका नेताले एसी जोडिदिएको ऋषि धमलासँगको कुराकानीमा त्रिपाठीले खुलासा गरेका हुन् । उनले रविलाई दुःख दिईएको भने दोहोर्याए । उनले आफू छिट्टै पूनः भेट्न कारागार पुग्ने जानकारी दिए । हिजोमात्रै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टर्राले लामिछानेलाई भेट गरेका थिए ।
उनले लामिछानेमाथि विभेद गरिएको र पत्रपत्रिकाको समेत सुविधा नदिईएको भन्दै गुनासो पोखेका थिए । रविलाई ब्ल्क नम्बर ४ मा राखिएको छ । प्रकाशित समाचारमा रविलाई राखिएको कारागार कोठामा बाहिरी संसार हेर्नको लागि राखिएको सानो झ्यालपनि प्लाईउडले बारिएको उल्लेख गरिएको थियो ।
रुपन्देही कारागारले रास्वपाका सभापति लामिछानेमाथि कुनै विभेद नगरेको र अन्य सामान्य कैदीहरुलाई जस्तै सेवासुविधा उपलब्ध गराएको दाबी गरेको छ । विभिन्न मिडिया र सोसल मिडियामा लामिछानेमाथि विभेद गरिएको समाचार आएपछि कारागा प्रशासनले आज साँझ विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको हो ।