काठमाडौं : लतिपुरमा भिड नियन्त्रण गर्ने क्रममा बच्चा बोकेकी महिलालाई लाठी हानेको भिडियो भाइरल बनेपछि प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेललाई जिम्मेवारीबाट हटाइएको छ ।
महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वबाट पौडेललाई हटाएर नयाँ इन्स्पेक्टर पठाइएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले पौडेललाई जावलाखेलमा तानिएको बताए ।‘एसपी दुर्गा सिंह नेतृत्वको समितिले पनि छानविन गरिरहेको छ’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले भने, ‘अहिले भैंसेपाटीमा प्रहरी निरीक्षक सुजित ओझालाई पठाइएको छ ।’
नेपाली सेनाबाट अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला साह नामक महिलाबीच भएको विवादका क्रममा बिहीबार पौडेलले लाठी चार्ज गरेका थिए । साहका लागि न्याय माग्न भन्दै खत्री निवास पुगेकी आफूलाई अभियन्ता बताउने हेमा श्रेष्ठलाई उनले लाठी हानेका थिए ।
श्रेष्ठले बच्चा बोकेकी थिइन् । पौडेलले घरमा छिरेर हुलहुज्जत र तोडफोग गरेपछि सामान्य बल प्रयोग गर्नुपर्ने स्पष्टिकरण दिएका थिए । प्रकरणको छानविनका लागि गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पार्नेछ । सोही आधारमा इन्स्पेक्टर पौडेलमाथि कारबाही गरिने बताइएको छ ।