नायक अनमोल केसी बिरुद्ध ‘धुपौरो’ समुहको उजुरी

नायक अनमोल केसी बिरुद्ध ‘धुपौरो’ समुहको उजुरी

काठमाडौ : नायक अनमोल केसीविरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले महानगरीय प्रहरी परिसर काठमाडौंमा एक साता अगाडी उजुरी दिएका हुन् ।

फिल्म ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिए पनि फिल्मका लागि समय नदिएको भन्दै निर्माताद्वय श्रेष्ठ र खड्गीले अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरेका छन् । अनमोलले गत असोज ३ गते ४० लाख पारिश्रमिक लिने गरी ‘धुपौरे’ मा अभिनय गर्ने सम्झौता गरेको उजुरीमा उल्लेख छ । सम्झौताअनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि केसीले फिल्म नखेलेर ठगी गरेको निर्माताद्वय श्रेष्ठ र खड्गीले दिएको उजुरीमा उल्लेख छ ।

फिल्ममा अभिनय गर्नका लागि तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै केसीले आफूहरुको थप २ लाख ५० हजार लिएको र फिल्मका लागि तय भएका अन्य कलाकार तथा प्राविधिकलाई अग्रिम रकम ३० लाख दिन लगाएर अनमोल भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति र्पुयाएको निर्माता द्वय श्रेष्ठ र खड्गीले प्रहरीमा दिएको उजुरीमा भनिएको छ ।

उजुरीमा अनमोल केसीका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ । साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको फिल्म ‘धुपौरे’ का लागि लोकेशन खोज्न निर्देशकसँगै अनमोल पनि विभिन्न ठाउँमा पुगेका थिए । उनले फिल्म छाड्नुको कारण स्क्रिप्टमा आएको परिवर्तन र छायांकनमा जान निर्माण टिमले गरेको हतारोलाई मानिएको छ ।

अनमोल गत शुक्रबारदेखि फिल्म ‘ए मेरो हजुर ४’ को छायाँकनमा व्यस्त छन् । उनले अर्को फिल्म ‘पारस’ पनि खेल्ने सम्झौता गरेका छन् ।