सरकारलाई रास्वपा सांसदको प्रश्नः घुस प्रकरणमा मन्त्रीले राजीनामा दिएपछि पाप पखालियो, छानविन हुनुपर्दैन ?

सरकारलाई रास्वपा सांसदको प्रश्नः घुस प्रकरणमा मन्त्रीले राजीनामा दिएपछि पाप पखालियो, छानविन हुनुपर्दैन ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य अशीम शाहले सकरारलाई मन्त्रिपरिषद्का सदस्यहरुको अनुहारमा धुलो रहेको बताएका छन् । मन्त्रिपरिषद्का सदस्यहरुको अनुहारको धुलो नहेरी प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन देखाइदिने रास्वपालाई व्यवस्था विरोधी र संसद् विरोधी भनेर गाली गरेको बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘केही दिनअघि प्रधानमन्त्रीज्यूले रास्वपालाई व्यवस्था विरोधी र भनिराख्दा मलाई गालिवको एउटा सायरी याद आयो । धुलो त ऐना हेर्ने तपाईँहरुकै मन्त्रिपरिषद् सदस्यहरुको अनुहारमा लागेको छ । ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

साथै, उनले ‘भिजिट भिसाको नाममा मानव तस्करहरुको फाइल कहाँ पुग्यो ?’ भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे । जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नु उनले सुझाव दिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविनको मागसहित आफूहरुको आन्दोलन जारी रहेको उनले बताए ।

साथै, उनले मन्त्री र पूर्व मन्त्रीको घुस मागेको अडियो सार्वजनिक हुँदा पनि सरकारले कुनै अनुसन्धानको प्रक्रिया अगाडि नबढाएको भन्दै आपत्ति जनाए । तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएपछि उक्त प्रकरणलाई सामसुम पार्न खोजिएको उनको भनाइ छ । उनले उक्त अडियो प्रकरणमा नाम मुछिएका मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई भने संरक्षण गरिएको बताए ।

‘यो कस्तो नयाँ परम्परा हो । भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो । अनि राजीनामा दिएपछि सबै पाप पखालियो ? राजीनामा भनेको त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ । तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानविनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई चाहिँ किन अदृश्य शक्तिको संरक्षण दिइएको छ । के उहाँहरुलाई अर्कै कानुन छ ? छानविन हुन पर्दैन ?’ प्रश्न गर्दै उनले भने ।