बाग्मतीमा कांग्रेस मिलाउने निर्णायक शक्ति एमाले

बाग्मतीमा कांग्रेस मिलाउने निर्णायक शक्ति एमाले

मकवानपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहका कारण बाग्मती प्रदेश सरकारको भविष्य रोचक बाटो हुँदै गम्भीर संवैधानिक संकटको मोडमा पुगेको छ । बहालवाला पाँच जना मन्त्रीले राजीनामा दिएलगत्तै मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध संसदीय दलबाट अविश्वासको प्रस्ताव पारित भएको छ ।

यससँगै लामा दलका नेता रहेनन् । तर, उनको मुख्यमन्त्रीको पद भने कायम नै छ । बुधबार भएको संसदीय दलको निर्वाचनमा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । तर, यसो हुँदैमा मुख्यमन्त्रीको पद धरापमा भने छैन ।

संसदीय दलको नेताबाट हटाइए पनि लामा मुख्यमन्त्रीबाट पदमुक्त हुने दुईवटा मात्रै अवस्था बाँकी छन् । पहिलो उनीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भई पारित हुनुपर्छ । तर, मुख्यमन्त्री नियुक्त भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाइने संवैधानिक व्यवस्थाका कारण यो विकल्प असम्भव छ ।

दोस्रो सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्नुपर्छ । एमालेले समर्थन फिर्ता लिएमा उनले प्रदेशसभामा विश्वासको मत माग्नुपर्नेछ । त्यसबेला उनले बहुमत जुटाउन नसकेको अवस्थामा मात्र लामा मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् ।

अर्को विकल्प भनेको पार्टीले संसदीय दलको नेताबाट हटाएका कारण नैतिकताका आधारमा राजीनामा दिने विकल्प लामासँग छ । तर, बुधबारसम्म उनी संसदीय दलको नेताबाट हटाइए पनि मुख्यमन्त्रीबाट राजीनामा दिने मनस्थितिमा पुगेका छैनन् ।

कांग्रेसभित्र आन्तरिक कलह बढ्दैजाँदा अब बाग्मतीको मुख्यमन्त्रीमा लामालाई निरन्तरता दिने कि बुधबार संसदीय दलको नेतामा विजयी भएका इन्द्रबहादुर बानियाँलाई अघि सार्ने भन्ने निर्णायक एमाले बनेको छ ।

नेकपा एमालेको बाग्मती प्रदेश संसदीय दलले बुधबार प्रदेश सरकार’bout कांग्रेसको संस्थागत निर्णयलाई मान्ने भनेको छ । प्रदेश सरकार’bout देखिएको अन्योलका ’boutमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै संस्थागत निर्णयलाई मान्ने निर्णय गरिएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

यो भनेको संसदीय दलमा निर्वाचित बानियाँलाई साथ दिने भन्ने हो । तर, लामाले राजीनामा नदिएको अवस्थामा एमालेले समर्थन फिर्ता नलिइ बानियाँलाई मुख्यमन्त्री बनाउन संवैधानिक सकस हुनेछ ।

बानियाँका पक्षमा २२ सांसद
बुधबार भएको नेपाली कांग्रेसको बाग्मती प्रदेश संसदीय दलको नेता चयनको निर्वाचनमा इन्द्रबहादुर बानियाँ २२ मतसहित विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा उनले कुल ३७ मध्ये २२ मत प्राप्त गरे । मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामाले १४ मत मात्र प्राप्त गरेका छन् । १ मत बदर भएको छ ।

२०७९ मंसिरमा भएको संसदीय दलको निर्वाचनमा पनि बाँनिया र लामाबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला लामा ५ मत बढी ल्याएर विजयी भएका थिए । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् । लामाको मन्त्रिपरिषद्कै ४ सदस्यले राजीनामा दिएर यसपटक बानियाँलाई सघाएका छन् ।

मुख्यमन्त्री भन्छन् : कानुनी बाटो समाउँछु
संसदीय दलको नेतामा हारेपछि मुख्यमन्त्री बहादुरसिंह लामाले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको भन्दै आफू संविधानअनुसार अघि बढ्ने बताएका छन् । उनले राजीनामा नदिने बताए । संसदीय दलको नेताको निर्वाचनमा पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मैले राजीनामा दिनुपर्ने आधार नै छैन, अब जेजे हुन्छ सबै संविधानअनुसार नै हुन्छ,’ लामाले भने ।

झोलामै फिर्ता गए माला
बाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका तीन जना मन्त्री बुधबार शपथका लागि प्रदेश प्रमुख कार्यालयमा पुगे । तर, शपथको वातावरण जुरेन । कांग्रेसभित्रकै घरझगडाका कारण ‘विचलित’ भएका सांसदहरू मन्त्री पदको उल्लासका साथ शपथको तयारीमा थिए । मन्त्री नियुक्त भएका उनीहरूका आफन्त र कार्यकर्ता झोलामा पुष्पगुच्छा र माला बोकेर प्रतीक्षामा थिए ।

तर, माहोल एकाएक बदलियो । पार्टी केन्द्रको दबाबमा उनीहरूलाई शपथग्रहण गराउनमा रोक लगाइयो । मन्त्रीको गला कुरिरहेका खादा, माला र पुष्पगुच्छा झोलामै रहे । दलको नेता चयनको प्रक्रिया भाँड्न खोजेजस्तो नदेखियोस् भनेर आफूहरू आफैं संयमित भएर शपथको कार्यक्रम सहमतिमै एक दिनका लागि स्थगित गरिएको मुख्यमन्त्री लामानिकट एक सांसदले बताए ।

मुख्यमन्त्री बहादुरसिंह लामाले धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरुङलाई क्रमशः आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद र सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गरेका थिए ।

शपथग्रहण कार्यक्रम बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा तय गरिएको थियो र आवश्यक जानकारीसमेत कार्यालयलाई दिइएको थियो । तर, नेकपा एमालेको आग्रहपछि कार्यक्रम स्थगित गरिएको हो । स्थगित शपथग्रहण बिहीबार (आज) दिउँसो १ बजेका लागि तय भएको छ ।

मन्त्रीले शपथ लिन नपाएपछि खादा, माला र पुष्पगुच्छा मात्रै होइन, मन्त्रीलाई रिसिभ गर्न बिहानै प्रदेश प्रमुख कार्यालय पुगेका सम्बन्धित मन्त्रालयका सचिवहरू पनि रित्तो फर्किए ।

राजधानी दैनिकबाट