एमालेमा शक्तिसंघर्ष

एमालेमा शक्तिसंघर्ष

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि सुरु भएको नेकपा एमालेभित्रको आन्तरिक संघर्ष चुलिँदै गएको छ।

गतसाता सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता हटाएर सक्रिय राजनीतिमा आउन नदिने घोषणा गरेसँगै आन्तरिक संघर्ष थप जटिल बन्दै गएको हो।

भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन नदिन एमाले संस्थापन पक्षले निरन्तर बैठक र छलफल गरिरहेको छ। केन्द्रीय कमिटी बैठकअघिबाटै सुरु भएको छलफल निरन्तर चलिरहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा संस्थापन पक्षका नेताले शुक्रबार साँझ कर्णाली प्रदेशका उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। त्यसपछि पनि संस्थापन पक्षको आन्तरिक छलफल निरन्तर अगाडि बढिरहेको छ।

खासगरी पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीमा सक्रिय राजनीति गर्न खोजेको र उहाँले पार्टीभित्र धु्रवीकरण गरी कार्यकर्तालाई अलमलमा पार्न खोजेको विषयमा छलफल भएको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका छन्।

शनिबार सम्बन्धित प्रदेशका इन्चार्जसहितका नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवासमै बोलाएर एमाले अध्यक्ष ओलीले विद्या भण्डारीका लागि पार्टीभित्र कुनै स्थान नराख्न निर्देशनसमेत दिएका छन्।

विद्या भण्डारी ‘मदन भण्डारी फाउण्डेशन’बाट सक्रिय हुने कोसिस गरिरहेका बेला ओलीले हावाको झोंक्काको संज्ञा दिँदै बालुवाटारको बैठकमा भने, ‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेता संघर्षपूर्ण इतिहासमा ठूलाठूला आँधी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं। अहिले बाहिर देखिएको यो सानो हावाको झोंक्का हो। सामान्य रूपमा समाधान हुन्छ। तपाईंहरू यसमा अल्मलिनुभन्दा आफ्नो जिम्मेवारीको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस्।’

शुक्रबार पत्रकार सम्मेलन गरेर पूर्वराष्ट्रपति भण्डारीले आफूमाथि पार्टी केन्द्रबाट अन्याय भएको आरोप लगाउँदै तल्लो तहसम्म जाने घोषणा गरेकी थिइन्। भण्डारीको यो अभियानलाई रोक्न पनि संस्थापन पक्षले अवरोध खडा गर्ने तयारी गरिरहेको छ। संस्थापन पक्षले महासचिव शंकर पोखरेलको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिनहुँ छलफल गरिरहेको स्रोतको भनाइ छ । संस्थापन पक्षले भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कार्यकर्तालाई नजान र प्रतिवाद गर्न निर्देशन दिएको छ।

राजनीतिमा आउन रोक्ने एमालेको निर्णयपछि भण्डारी पार्टीका नेता-कार्यकर्ताबीच अभियान लिएर जाने तयारी गरिरहेकी छन्र। आफूविरुद्ध संस्थापन पक्षले निरन्तर बैठक गरेको थाहा पाएपछि भण्डारी पक्षका नेताहरू पनि भंगालस्थित भण्डारी निवासमा दिनदिनै छलफल गरिरहेका छन्। उनीहरूले पनि संस्थापन पक्षको अवरोध चिर्न रणनीति बनाइरहेको स्रोतको दाबी छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल निलम्बनमा परेका छन्। संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो। साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ। युवा संघ नेपालले केन्द्रीय सदस्य युवान्तिका कुलुङमाथि पनि कारबाही गरेको छ।

निलम्बित केन्द्रीय सदस्य कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेरे चरित्र हत्या गर्ने काम भएको आरोप लगाउँदै भने, ‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका मलाई ९ बजे कारबाहीको पत्र आयो। त्यो पत्रभन्दा अगाडि मैले स्पष्टीकरण दिइसकेको थिएँ। मलाई कारबाही गर्न खोजेको चाहिँ धेरै समय भइसक्यो। मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्र हत्या गर्न खोजेकै हो। षड्यन्त्र गरेर मेरो राजनीति सकाउने प्रयास भएको छ।