‘विद्या भण्डारीको पार्टी सदस्यता खारेज गरेको छैन, उपयुक्त समयमा उपयुक्त निर्णय हुन्छ’ : पूर्वमन्त्री श्रेष्ठ

‘विद्या भण्डारीको पार्टी सदस्यता खारेज गरेको छैन, उपयुक्त समयमा उपयुक्त निर्णय हुन्छ’ : पूर्वमन्त्री श्रेष्ठ

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री लिलानाथ श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खारेज नगरेको दाबी गरेका छन् । भण्डारीको पार्टी सदस्यताको बारेमा उपयुक्त समयमा उपयुक्त निर्णय हुने श्रेष्ठको भनाई छ । तर, अहिले पार्टीले गरेको निर्णय शिरोधार्य गर्नु आफूहरुको धर्म भएको उनको भनाई छ ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको सवालमा पार्टीको आधिकारिक च्यानल र प्रवक्ताबाट धारणा सार्वजनिक भएकोले आफ्नो पनि त्यही धारणा भएको जिकिर गरे । उनले भने,‘यो विषयमा पार्टी प्रवक्ताले जे वक्तव्य जारी गर्नुभएको छ, हाम्रो धारणा त्यही हो । हाम्रो पार्टीमा निरंकुशता छैन । प्रतिष्पर्धा गरेर अघि बढ्ने हो । अहिले हामीले कसैलाई कारबाही गरेको छैन । हामी कारबाही गर्ने पक्षमा छैनौं । विद्यादेवी भण्डारीको हाम्रो पार्टीमा ठूलो योगदान छ । उहाँको सदस्यता खारेज गरेको छैन । उपयुक्त समयमा सदस्यताको बारेमा छानबिन गरेर उपयुक्त निर्णय हुन्छ । विद्या भण्डारी हाम्रो जिम्मेवार अभिभावक हो । उहाँको पनि यो पार्टी बनाउन ठूलो योगदान छ । उहाँले पार्टी फुटाउने काम गर्नुहुन्न । हामी त पार्टीको कुरा शिरोधार्य गर्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालमा अहिलेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीजत्तिको राष्ट्रवादी व्यक्ति अर्को नभएको बताए । उनले भने,‘केपी अ‍ोली राष्ट्रवादी व्यक्ति हो । बहुदलीय व्यवस्था आएदेखि कसैले उठाउन नसकेको कालापानी, लिपुलेक, लिम्पियाधुरा सिमाको विषय उठाउनुभयो । संविधान संशोधन गरेर पास गरेको होईन ? भारतको नाकाबन्दी खुलाउनुभयो । अनि चीनसँग पारवाहन सन्धि र व्यापार सन्धि गरेको होईन ?यो काम कसैलेपनि गर्न सकेको थिएन । एमाले अध्यक्ष श्रद्धेय केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सि जिनपिङभन्दा कम होईन । हाम्रो सरकारले भूमि फिर्ता लिनको लागि भारतसँग मित्रवत् रुपमा कुरा राख्छ । हाम्रो भूमि संसद्बाट संविधान संशोधन गरेर पास गरेका छौं ।’ एमालेको नेतृत्वमा ओलीको निरन्तरता आवश्यकत्ता भएको उनको भनाई छ । उनले अध्यक्ष ओलीको कुनै देवत्वकरण नगरिउको जिकिर गरे ।

एमालेको मधेश प्रदेशका ईन्चार्ज तथा स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमन्त्री श्रेष्ठले मधेश प्रदेश यतिवेला खडेरीको मारमा परेको बताए । उनले भने,‘मधेशमा खडेरी परेको छ । मैले त आज सदनमा पनि खानेपानी र खडेरीको लागि विशेष वैकल्पिक व्यवस्था गर्नुपर्छ भनेको छु । साउन १५ गतेपछि धान रोपाईं हुँदैन । मधेशमा अहिले ४९ प्रतिशतमात्रै रोपाईं भएको छ । ५१ प्रतिशत बाँकी छ । मधेश अन्नको भण्डार हो । जलवायु परिवर्तनको कारण हिमाल कालो भएका छन् । सबैतिर तापक्रम बढेको छ । हिमालमा अझै तापक्रम बढेको छ ।’

उनले मधेश सुख्खासग्रस्त क्षेत्र बन्नुको मुख्य कारण जलवायु संकट नै भएको र वन–जंगलको विनाश कारण रहेको सुनाउ । उनले भने,‘तत्काल सरकारले चुरे किनारामा ठूलो ठूलो पोखरी, ताल निर्माण गर्नुपर्छ । वृक्षारेपण हुनुपर्छ । तराईमा खडेरी परेको छ । सुख्खा क्षेत्र घोषणा र पिउने पानीको लागि मैले संसद्मा विशेष सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छु । आजै विशेष समयले लिएर सदनमा बोलेको छु । तीनवटै सरकारले जनताको सरोकारको यी विषयमा गम्भीर कदम चाल्नुपर्छ । ठोस नीति बनाएर तत्काल राहत दिनुपर्छ ।’

उनले सरकारको एक वर्ष सफल रहेको दाबी गरे । उनले अहिले निर्यातमा इतिहासकै उच्च वृद्धि भएको तथ्यांक पेश गरे । उनले एक वर्षमा सरकारले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जनाए । यस्तै, मिर्गौला रोगीलाई ८ लाख ५० सहुलियत दिने निर्णय गरेको पनि उनले सरकारको सफलतामो दराए । उनकाअनुसार गत वर्षको तुलनामा यसवर्ष राजश्वमा एक खर्ब ८ अर्ब वृद्धि भएको छ । आर्थिक वृद्धिद्धर ४.६ प्रतिशतमा पुगेको पनि उनले तथ्यांक सुनाए । उनले भने,‘सरकाले केही गरेन भन्ने कुरा बजार हल्लामात्रै हो । सरकारले पहिलेभन्दा धेरै सुधार गरेको छ ।’