काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि केवल मुठ्ठीभर मानिसहरुको लागि मात्रै हुन नहुने बताएकी छन्। आज (बिहीबार) काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट’ लाई सम्बोधन गर्दै उनले समृद्धि आम जनताको लागि हुनुपर्ने बताएकी हुन्।
‘हामीले के पनि विर्सन हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरुका लागिमात्रै होइन, आम जनताको लागि हुनुपर्छ । त्यसैले लगानीसँगै रोजगारी, समावेशिता, ग्रामिण विकास, महिला उद्यमशीलता, श्रमिकको सुरक्षा, वातावरणीय जिम्मेवारी पनि सुनिश्चित हुनुपर्छ,’ उनले भनिन्।
साथै, उनले म स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासका नयाँ युगमा प्रवेश गरिरहेको बताउँदै लगानी भित्र्याउन आग्रह गरिन्। नेपालमा गरिएको लगानी गर्नु केवल मुनाफा कमाउने कुरामात्रै नभएर इतिहासको साझेदार बन्ने अवसर पनि रहेको उनको भनाइ छ। ‘नेपालमा लगानी गर्ने भनेको एक गरिबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने, एक गाउँमा उज्यालो ल्याउने कार्यसमेत हो,' उनले भनिन् ।
उनले आर्थिक समृद्धिको यात्रालाई सार्थक तुल्याउन सक्रियतापूर्वक अग्रसर बन्न सबैलाई आग्रह गरिन् । समृद्धि केवल सपना नभएर अब संकल्प बन्नुपर्ने उनको भनाइ छ।