काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन्। उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन्।
उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन। त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ। संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ।’
भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन्। ‘दुई महिनादेखि भिजिट भिसा प्रकरणलाई लिएर हामी आन्दोलनमा छौं,’उनले भनिन्,‘तर छानबिनको नाममा बनेको समिति बाँदरको पुच्छर जस्तै भएको छ — न लौरो, न हतियार। त्यसैले हामी संसदको कारवाहीमा सहभागी भएका छैनौं।’
सांसद कार्कीले संसदमा प्रमुख दलहरुले सरकारको मनोमानीलाई मौन समर्थन गरिरहेको समेत आरोप लगाइन्। ‘हामी बहिष्कारमा छौं तर सरकार भने हाईसन्चो भएजस्तो प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दैछ,’ उनले थप भनिन्।