कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वनाः माधव नेपाल

कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वनाः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना रहेको बताएका छन्। 

बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप लगाए। 

उनले भने, ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री तर देशको अवस्था राम्रो छैन्। जनतामा निराशा छ। परिणाम आउने काम भइरहेको छैन कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मृत्युवरण गरेको छ। त्यो समाजले हटाउन सकेको छैन। त्यहाँ कम्युनिष्ट पार्टीहरू पनि छन् तर उनीहरु अभियान चलाउँदैनन्। हामीले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न सामाजिक जागरण मात्र होइन् त्यस्ता प्रवृत्ति बोक्नेहरुको विरुद्धमा भण्डाफोर गर्ने अभियान चलाएको छैनौं।’

त्यस्तै, उनले अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि धारणा राखे। 

‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो। आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो। सामुहिकताको भावनाको अभाव छ। सामुहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो।’ उनले भने,

त्यस्तै, सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्य हुन लाग्दा उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइ रहेको टिप्प्णी गरे। जुन एउटा षड्यन्त्रको सिकार भएको उनको धारणा छ। 

‘कम्युनिष्ट आन्दोलन करिब करिब अन्त्य भएको जस्तो देख्छु तर कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु। त्यो पनि एउटा ठूलै षड्यन्त्रको सिकार हो।’ उनले भने,

उनले नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्ने धारणा पनि राखे। 

अध्यक्ष यादवले नेपालमा यति धेरै कम्युनिष्ट नेताहरु हुँदा हुँदै कहिले राप्रपा त कहिले कांग्रेसकोपछि लाग्नु पनि एउटा षड्यन्त्र भएको बताए। 

 

छुटाउनुभयो कि ?