कांग्रेस सहमहामन्त्री राणाको आरोप : ‘कमजोरी ढाक्न बालेन सरकारले ३५ वर्षे भाष्य सिर्जना गर्दैछ’

कांग्रेस सहमहामन्त्री राणाको आरोप : ‘कमजोरी ढाक्न बालेन सरकारले ३५ वर्षे भाष्य सिर्जना गर्दैछ’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा (जबरा) ले बालेन शाह नेतृत्वको सरकारले आफ्ना नालायकी र कमजोरी ढाकछोप गर्न ‘विगत ३५ वर्षमा केही भएन’ भन्ने निराधार भाष्य सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री राणाले ६ महिनाको अवधिमा सरकारले कुनै पनि क्षेत्रमा प्रशंसायोग्य काम गर्न नसकेको दाबी गरे।

“बालेन सरकारले अहिलेसम्म कुनै पनि क्षेत्रमा ‘ओहो, यहाँ राम्रो गर्‍यो’ भनेर औँल्याउने ठाउँ नै छाडेको छैन,” राणाले भने, “आफ्नो असफलता लुकाउन सरकारले बारम्बार विगत ३५ वर्षमा केही भएन भन्दै अरू दलमाथि दोष थुपारेर उम्किन खोजिरहेको छ।”

मुलुकको आर्थिक स्थिति अहिले जस्तो डाँवाडोल कहिल्यै नभएको टिप्पणी गर्दै उनले ‘पहिला थुन्ने र पछि सुन्ने’ सरकारी रवैयाका कारण निजी क्षेत्र तथा व्यवसायीहरू चरम त्रसित र असुरक्षित बनेको बताए। “बजारमा महँगी बढेको छ, निजी क्षेत्रले बैंकबाट कर्जा लिन सकेको छैन र पर्याप्त मौज्दात हुँदाहुँदै पनि सरकारले घर-घरमा ग्यास पुर्‍याउन सकेको छैन,” उनले थपे, “गत एक वर्षमा ७ वटा आत्मदाहका घटना भएकामा यो सरकार आएपछिका पछिल्ला दुई महिनामै ९ जनाले आत्मदाह गरिसके। यसले नागरिकमा व्याप्त चरम निराशा प्रस्ट पार्छ।”

परराष्ट्र र प्रशासनिक विषयमा प्रश्न उठाउँदै उनले पहिले ८ डलरमा छापिने पासपोर्ट अहिले ९ डलर पुर्‍याइनुको जबाफ सरकारसँग मागे। त्यसैगरी, राष्ट्रिय सभामा रास्वपाका सांसद नभए पनि बजेट पारित गर्न प्रतिपक्षले सहयोग गरेको स्मरण गराउँदै उनले कानुन मन्त्री शोभिता गौतमले राष्ट्रिय सभाका कारण विधेयक रोकिएको भनी असत्य बयान दिएको आरोप लगाए।

देवानगञ्ज घटना र भोटेकोशी बाढीजस्ता विपद्पछि प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठक बोलाउनुपर्नेमा रास्वपा सभापति रवि लामिछानेले बैठक आह्वान गरेकोमा उनले असन्तुष्टि जनाए। तर, सबै दललाई छलफलका लागि एकै ठाउँ ल्याएको भन्दै उनले लामिछानेलाई धन्यवाद भने दिए। मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिए पनि त्यसको स्रोत नखुलाइएकाले त्यो अपारदर्शी रहेको उनको ठहर थियो।

प्रधानमन्त्री बालेनले संसद्मा सम्बोधनका क्रममा ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिँदा सत्तापक्षका सांसदहरूले ताली बजाएको घटनाप्रति उनले कडा आपत्ति जनाए। यद्यपि, निर्वाचन र त्यसपछिका गतिविधिमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्ने शैली भने रास्वपाबाट कांग्रेसले सिक्नुपर्ने उनले स्वीकार गरे।

पार्टीको आन्तरिक प्रसङ्गमा बोल्दै सहमहामन्त्री राणाले नेपाली कांग्रेस कुनै हालतमा नफुट्ने दाबी गरे। नेता डा. शेखर कोइरालाका ७ बुँदे र पूर्णबहादुर खड्काका ५ बुँदे माग सम्बोधन भइसकेकाले १५ औँ महाधिवेशनमा एकजुट भएर लाग्न उनले नेता-कार्यकर्तालाई आह्वान गरे। उनले आवश्यक परेका विषयमा कांग्रेसले सरकारलाई रचनात्मक सहयोग जारी राख्ने स्पष्ट पारे।

उक्त साक्षात्कार कार्यक्रममा नेकपा एमालेका नेता शेरबहादुर तामाङ, नेकपाका नेता देवेन्द्र पौडेल र रास्वपा सांसद आशिष गजुरेलको पनि उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?