कांग्रेसको १५औँ महाधिवेशन: क्षेत्रीय अधिवेशन र प्रतिनिधि चयनको समय दुई दिन थप

कांग्रेसको १५औँ महाधिवेशन: क्षेत्रीय अधिवेशन र प्रतिनिधि चयनको समय दुई दिन थप

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्दै क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको समयसीमा दुई दिन थप गरिएको छ।

यसअघि असोज १३ गतेभित्रै क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको थियो। तर देशका विभिन्न स्थानमा भएको भारी वर्षा र प्रतिकूल मौसमका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि छनोटको प्रक्रिया प्रभावित भएपछि समयसीमा थप्ने निर्णय भएको हो।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण रोकिएका वा ढिलाइ भएका क्षेत्रहरूमा असोज १५ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने जनाएको छ।

संशोधित नयाँ कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेसन (दर्ता) कार्य असोज १६ र १७ गते हुनेछ। १५औँ महाधिवेशनको भव्य उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौँको टुँडिखेलस्थित खुला मञ्चमा हुने तय भइसकेको छ।

उद्घाटन सत्रपश्चात् असोज १९ र २० गते महाधिवेशनको बन्द सत्रसहितका अन्य सांगठनिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। यस्तै, नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

छुटाउनुभयो कि ?