पूर्वप्रधानन्यायाधीश पक्राउबारे न्यायपालिका र प्रहरी नेतृत्वबीच सर्वोच्चमा कुराकानी

पूर्वप्रधानन्यायाधीश पक्राउबारे न्यायपालिका र प्रहरी नेतृत्वबीच सर्वोच्चमा कुराकानी

काठमाडौं। प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीबीच सर्वोच्च अदालतमा भेटवार्ता भएको छ। मंगलबार अपराह्न करिब ४ बजे सर्वोच्च अदालत पुग्नुभएका आईजिपी कार्की र प्रधानन्यायाधीश शर्माबीच करिब ४५ मिनेट (पौने ५ बजेसम्म) छलफल भएको हो।

स्रोतका अनुसार आइतबार मध्यराति सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको वस्तुस्थितिबारे जानकारी लिन प्रधानन्यायाधीश शर्माले आईजिपी कार्कीलाई सर्वोच्चमा बोलाएका थिए।

भेटका अवसरमा पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनुको कानुनी आधार, सुरक्षा व्यवस्था तथा सो कदमसँग जोडिएका विषयमा कुराकानी भएको बुझिए पनि दुवै पक्षबाट औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन।

यसअघि सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुल बेन्च) ले पूर्वप्रधानन्यायाधीश जबरालाई बिना कुनै स्पष्ट कानुनी आधार मध्यराति नियन्त्रणमा लिइनुलाई 'स्वेच्छाचारी कदम' भन्दै गम्भीर चासो र आपत्ति व्यक्त गरेको थियो।

सर्वोच्चले न्यायपालिकाको गरिमा र पूर्वप्रधानन्यायाधीशको मर्यादा विपरीतको कार्य नगर्न सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएको सन्दर्भमा प्रहरी नेतृत्व र न्यायालय प्रमुखबीच भएको यो भेटलाई विशेष चासोका साथ हेरिएको छ।

छुटाउनुभयो कि ?