नीति र अनुशासनविपरीत जानेलाई अब कडा कारबाही हुन्छ: अध्यक्ष ओली

नीति र अनुशासनविपरीत जानेलाई अब कडा कारबाही हुन्छ: अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही गरिने चेतावनी दिएका छन्।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकअघि भएका गतिविधिलाई क्षमा गरिए पनि अब त्यस्तो छुट नदिइने स्पष्ट पारे। उहाँले पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने तथा विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने जोसुकैलाई कारबाहीको दायरामा ल्याइने बताए।

कार्यक्रममा बोल्दै ओलीले भने, “पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो। यो अपराधपूर्ण क्रियाकलाप हो। केन्द्रीय कमिटीअघिका यी सबै क्षमा भयो। तर अब क्षमा हुँदैन। हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौँ। यो चुनावको तयारी गर्ने बेला हो। कोराकोर, हानहान गर्ने होइन।”

पार्टी केन्द्रीय कार्यालयबाट आयोजित कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल तथा सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल र डा. राजन भट्टराईलगायतका नेताहरू सहभागी थिए।

महासचिव पोखरेलले सञ्चालन गरेको कार्यक्रममा ओलीले हालै सम्पन्न एमालेको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि पार्टीभित्रको सन्देह अन्त्य भएको दाबी गरे। उहाँले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता स्वीकार्य नहुने जनाए।

ओलीले ‘लोकतन्त्रको पुनर्वहाली’ र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीलाई पार्टीको मुख्य गन्तव्यका रूपमा अघि सार्न निर्देशन दिए। उनले नेता–कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर संगठन निर्माणमा सम्पूर्ण शक्ति लगाउन आग्रह गरे।

देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा विध्वंस र आतंक मच्चाउने प्रयास भइरहेको दाबी गर्दै ओलीले त्यसलाई रोक्न एमाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले भने, “मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको छ। तर एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ।”

फागुनमा भएको निर्वाचनमा पार्टीले भोग्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंस र पार्टीभित्रका आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै उनले अब सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने बताए।

अन्य दलसँग पार्टी एकताको चर्चा गर्नु समयको बर्बादी हुने बताउँदै उनले आवश्यकताअनुसार चुनावी तालमेल वा विषयगत कार्यगत एकता गर्न सकिने धारणा राखे।

ओलीले राजधानी वा सुविधाजनक स्थानमा बसेर जिल्ला तथा कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न नसकिने भन्दै नेताहरूलाई कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन निर्देशन दिए। उनले नेता–कार्यकर्ताको मूल्याङ्कन अब ज्येष्ठताका आधारमा नभई काम र क्षमताका आधारमा हुने जनाए। “आफूलाई बदल्नुहोस्, शालीनता र विनम्रता सिक्नुहोस्,” ओलीले भने, “आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस्।”

छुटाउनुभयो कि ?