संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं। संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तको असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश सपना मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएकाे हाे।

उक्त मुद्दाको अर्को पेशी बैशाख ७ गतेका तोकिएको छ।

३० माघ, २०८१ देखि ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो। तर सर्वोच्च अदालतको संवैधानिक इजलासले नियमित रुपमा नभई केही साताको फरकमा पेशी तोक्ने गरेको छ । माघ यता दुई पटक मात्रै मुद्दामा सुनुवाइ भएको थियो।

२०७७ मङ्सिर ३० र त्यसपछि गरेर तत्कालीन प्रधानमन्त्री एवम संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारी सिफारिस गरेका थिए।

त्यसपछि संसद् विघटन हुँदा उनीहरू संसदीय सुनुवाइविनै नियुक्त भएका थिए।