काठमाडौँमा एक लाख युवा उतार्ने एमालेको तयारी

काठमाडौँमा एक लाख युवा उतार्ने एमालेको तयारी

काठमाडाैं। नेकपा एमालेले जन आन्दोलन सफल भएको दिन पारेर देशभरका युवाहरूलाई काठमाडौँ उतार्ने भएको छ। ‘युवा महोत्सव’ नाम दिएको सो कार्यक्रम वैशाख ११ गते भृकुटीमण्डपमा हुने तय भएको छ।

सोमबार बसेको एमालेको सचिवालय बैठकले सो निर्णय गरेको हो। नेताहरूका अनुसार ६ हजार ७ सय ४३ वटा वडाबाट युवालाई काठमाडौँको भृकुटीमण्डपमा उतार्न लागिएको हो।

‘प्रत्येक वडालाई २ देखि १० जना ल्याउन निर्देशन दिइएको छ,’ एक पदाधिकारीले भने, ‘एक लाख भन्दा बढी युवा काठमाडौँ आउनेछन्।’

युवा ल्याउँदा कर्णाली प्रदेशबाट भने हरेक वडाबाट २ जना युवालाई काठमाडौँ ल्याउनुपर्नेछ। गणतन्त्रप्रति युवाहरूमा सकारात्मक धारणा विकास गराउन कार्यक्रम राखिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

पूर्व राजा ज्ञानेन्द्र शाहले गद्दीमा फर्कने प्रयास तीव्र पारिरहेका बेला सत्तारूढ दल एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो। देशभरका यवालाई भृकुटीमण्डपमा जम्मा पारेर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न लागेका छन्। उक्त कार्यक्रमका लागि युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई संयोजक तोकेर कार्यक्रमको तयारी थालिएको एमालेले जनाएको छ।