काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू भागेको नभइ जोगिएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै प्रसाईंले भने, 'म भागेको होइन, अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।'
प्रसाईंले थप भनेका छन्, 'म रहे भने यो अभियान, जनविद्रोह सफल हुन्छ, म नै रहेन भने यो जनविद्रोह दबाएर जान्छ ।'
उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरे । चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।
आफू मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको भिडियोमार्फत बताएका छन् । 'मलाई प्रहरीले खोजिरहनु पर्दैन, म नैपालमै छु, कुनै ठाउँमा छु । मानवअधिकारीवादी र वकिलहरूको रोहवरमा सार्वजनिक हुन तयार छु,' उनले भनेका छन् ।