काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले सरकारलाई चारैतिरबाट घेर्न थालेको बताएका छन् । आज (आइतबार) नेवाः मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रममा सरकारको विरुद्धमा अहिले विभिन्न राजनीतिक दलहरु, शिक्षकलगायतका शक्तिहरु देखापरेको बताए ।
वर्तमान सरकारको कुशासनको विरुद्ध जनताले चारैतिरबाट घेर्न थालेको सुनाउँदै प्रचण्डले निर्णायक प्रहार भने माओवादीबाटै हुने बताए । ‘चारैतिर यो सरकारलाई घेर्ने काम जनताले गर्न थालेका छन् । निर्णायक प्रहार चाहीँ हामीले नै गर्नुपर्ने हुन्छ,’– उनले भने ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको कुशासनको कारण प्रतिगामी शक्तिले टाउको उठाउने ठाउँ पाएको उनको आरोप छ । ओली नेतृत्वको सरकारले अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक काम गरिरहेको प्रचण्डले बताए ।
‘प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकार हो । आफ्ना जतिसुकै भ्रष्ट भएपनि जोगाउने, अन्यका जतिसुकै राम्रो भएपनि लखेट्ने जुन तरिका यो सरकारले गरेको छ,’– उनले भने ।
आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै विचौलीय र भ्रष्ट दलालहरुले षड्यन्त्रपूर्वक हटाएको पनि उनले सुनाए ।