काठमाडाैं। संसदमा रहेका विपक्षी दलहरूले कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध सडक र सदनबाट विरोध गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले शक्ति प्रयोग गरेर सरकारले घिसिङलाई पदबाट बर्खास्त गरेको निष्कर्ष निकाल्दै सडक र सदनबाट विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
विधि-विधानबिपरित दुई तिहाइको बलमा घिसिङलाई पदबाट हटाउने कामका साथै सरकारका अन्य क्रियाकलापबिरुद्ध समेत एक भएर आवाज उठाउने निर्णय भएको उनले बताए।
उनले देशको हितका लागि उत्कृष्ट काम गर्ने कर्मचारीलाई आफूले भनेको कुरा नमान्दा सरकारले जवरजस्ती निकाल्ने कामको प्रतिकार हुने बताए।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले केहि दिन अघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासंग भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी बिषयमा मात्रै छलफल भएको र कुलमान घिसिङका बिषयमा कुनै छलफल नभएको जानकारी गराएका थिए।