काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा नेपाली कांग्रेसका सांसदले कुलमान हटाउने सरकारको निर्णय पुनर्विचार गर्दा उपयुक्त हुने धारणा राखेका छन् । आज (मंगलबार) बसेको समितिको बैठकमा सांसद रामकृष्ण यादवले पुनर्विचार गर्न सरकारलाई समितिले निर्देशन दिँदा उपयुक्त हुने धारणा राखेका थिए ।
सांसद यादवले सरकारले नहटाउनुपर्ने मान्छेलाई पदबाट हटाएको बताए । ‘लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाऔं,’– बैठकलाई सम्बोधन गर्दै उनले भने ।
मन्त्रिपरिषद् बैठकले हिजो नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो । प्राधिकरणका कार्यकारी निर्देशकमा सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कुलमानलाई हटाउने निर्णयविरुद्ध सर्वत्र आलोचना भइरहेको छ ।