राजावादीहरुको विगतका कुकर्महरु नाङ्गेझार गर्न माधव नेपालको अपिल

राजावादीहरुको विगतका कुकर्महरु नाङ्गेझार गर्न माधव नेपालको अपिल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरुको क्रियाकलाप जनताको चाहना र भावना विपरीत रहेको निष्कर्ष निकालेको छ। आज (सोमबार) बसेको केन्द्रीय सचिवालयको वैठकले जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध गतिविधि हुन थालेको र त्यस्ता गतिविधिहरु जनताको भावना र चाहना विपरीत रहेको निष्कर्ष निकालेको हो ।


एकीकृत समाजवादीले अब परिवर्तनका पक्षधरहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ । गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै रहेको बताउँदै एकीकृत समाजवादीले दल र नेताहरुकै काम र अभ्यासहरूको समेत गम्भीर आत्मसमीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको छ । साथै, प्रतिगमनकारी, पुनरूत्थानवादी तत्वहरूले इतिहासमा गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आमजनसमुदायमा एकीकृत समाजवादीले अपील गरेको छ ।

बैठकले आगामी चैत १ गते वृहत पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा, कार्यक्रम सार्वजनिक गर्ने निर्णयसमेत गरेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।