आइसिसी च्याम्पियन ट्रफीको उपाधि भारतलाई

आइसिसी च्याम्पियन ट्रफीको उपाधि भारतलाई

काठमाडौं। भारतले १२ वर्षपछि आइसिसी च्याम्पियन ट्रफी जितेको छ । आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो ।

भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन ट्रफी जितेको थियो । भारतले उक्त फाइनलमा इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो ।

यसपटक भने भारतले अन्तिम ओभर बाँकी रहँदा न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै चौथोपल्ट उपाधि हात पारेको हो । न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो ।

भारतलाई जित दिलाउन कप्तान रोहित शर्मा नै निर्णायक बने । ८३ बल खेलेका उनले सात चौका र तीन छक्कासहित सर्वाधिक ७६ रन बनाए ।

श्रेयस अय्यर ४८, शुभमन गिल ३१, अक्षर पटेल २९ र हार्दिक पाण्ड्या १८ रनमा आउट हुँदा केएल राहुल ३४ र रविन्द्र जडेजा नौ रनमा अविजित रहे ।

न्युजिल्यान्डका मिचेल सैन्टर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए।त्यसअघि पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रन बनाएको थियो ।