चिनियाँ भिसा सेन्टर दरबारमार्गमा सर्यो

चिनियाँ भिसा सेन्टर दरबारमार्गमा सर्यो

काठमाडौं : चीनले काठमाडौंको हात्तीसारस्थित कार्यालयबाट भिसा आवेदन लिन बन्द गरेर दरबारमार्गमा भिसा सेन्टर खोलेको छ । राइजिङ मलको दोस्रो तलामा खोलिएको भिसा सेन्टर सोमबारबाट शुभारम्भ भएको छ । भिसा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरु छन् ।

अब चीन जानका लागि दरबारमार्गस्थित यही भिसा सेन्टरमा गएर आवेदन दिनुपर्छ । यसअघि नेपालस्थित चिनियाँ दूतावासले हात्तिसारस्थित कार्यालयबाट आफैं भिसा आवेदन संकलन गर्थ्यो । अब भने त्यो काम ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ नामको कम्पनीलाई जिम्मा दिइएको छ । यो कम्पनी नेपालमा ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक नेपाल प्राइभेट लिमिटेड’को रुपमा दर्ता भएर सञ्चालित छ ।

चीनले यूरोप, एसिया, अफ्रिका, ओसिनिया र उत्तर अमेरिकाका ९० भन्दा बढी देशहरुमा ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ कम्पनीमार्फत् भिसा आवेदन संकलन गर्दै आएको छ ।

भिसा सेन्टरले आवेदकको फिङ्गर प्रिन्ट लिने, फोटो खिच्नेलगायतका सुरक्षात्मक उपाय अपनाउँदै आवेदन संकलन गरी दूतावाससम्म पुर्‍याउँछ । ती कागजपत्र र विवरण हेरेर भिसा दिने र नदिने निर्णय दूतावासले गर्छ । यसअघि हात्तीसारस्थित कार्यालयले आवदेकको पासपोर्ट र त्यसँसगै संलग्न गरिएका अन्य कागजपत्रमात्र हेरेर भिसा दिने–नदिने निर्णय गर्थ्यो ।

हात्तीसारस्थित कार्यालयमा मानिसहरुको भिडभाडका कारण र सुरक्षा संवेदनशीलता बढेको भन्दै भिसा सेन्टर अलि टाढा राख्नुपर्ने मत दूतावासका अधिकारीहरुले पहिलेदेखि नै राख्दै आएका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आएपछि बल्ल भिसा सेन्टर खोल्ने प्रक्रिया अगाडि बढेको थियो ।
काठमाडौंस्थित भिसा सेन्टरका डाइरेक्टर झाङ्ग चियोङ्गका अनुसार उनीहरु यसअघि दुई पटकसम्म नेपाल आएर अध्ययन गरेका थिए । उनले भने, ‘सञ्चालन खर्च, कर्मचारी, उपकरण, नेपालको कानूनअनुसारको करलगायत सबै कुराको अध्ययन गरेर भिसा शुल्क निर्धारण गरेका थियो ।’ उनले सेवाग्राहीलाई प्राथमिकता दिएर सरल र छिटो छरितो रुपमा सेवा सञ्चालन गरिने बताए ।

अब कम्पनीमार्फत् प्रक्रिया अघि बढाउनुपर्ने भएकाले चीनको भिसा शुल्क दोब्बर बढीले महँगो भएको छ । यसअघि हात्तीसारस्थित चिनियाँ दूतावासको कार्यालयले नेपालीलाई २२ सय रुपैयाँ भिसा शुल्क लिन्थ्यो । हात्तीसारस्थित कार्यालयभित्रै रहेको बैंकमा पैसा बुझाउनुपर्थ्यो । त्यहीँ भित्रैबाट सेवा दिएवाफत् बैंकले थप ३ सय रुपैयाँ सेवा शुल्क लिन्थ्यो । यसरी कूल २५ सय रुपैयाँ तिरेर चीनको भिसा अप्लाई गर्न सकिन्थ्यो ।

अब भने चिनियाँ दूतावासले अलग्गै कम्पनीलाई भिसा आवेदन संकलनको जिम्मा दिएकाले सो कम्पनीले थप सेवा शुल्क लिन्छ । त्यसैले भिसा आवेदन शुल्क पहिलेको भन्दा झण्डै दोब्बर महँगो भएको छ ।

काठमाडौंस्थित चाइनिज भिसा सेन्टरका डाइरेक्टर झाङ्ग चियोङ्ग
पश्चिमा देशहरुले पनि भिसा सेन्टरबाट भिसा आवेदन संकलन गर्ने र भिसा लागे पनि नलागे पनि सेवा शुल्क लिने गर्दछन् । अहिले चीनले पनि त्यस्तै नीति अख्तियार गरेको छ । हाल जापानले भिसा लागिसकेपछि मात्र शुल्क लिने गर्दछ ।

यसअघि चिनियाँ दूतावासले गत माघ १७ गते नै सूचना जारी गरी आफूले भिसा आवेदन नलिने जानकारी दिएको थियो । सो सूचनामा भिसा सेन्टरले आवेदन लिने उल्लेख छ ।