यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन् : माधव नेपाल

यो सरकार देशलाई घाँडो भइसक्यो, ओलीले नर्कमा पुर्‍याउँछन् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिनुपर्ने बताएका छन् ।जसपा नेपालले काठमाडौंमा आयोजना गरेको भूमिसम्बन्धी अध्यादेशबारे अन्तरक्रिया कार्यक्रममा उनले नैतिक जिम्मेवारी लिँदै फिर्ता लिनुपर्ने बताएका हुन् । 

नेपालले भ्रष्टाचारीलाई प्रोत्साहन गर्नका लागि मिलेमतोमा यो अध्यादेश ल्याइएको दाबी गरे । “हाम्रो देशको वन र जमिन बर्बाद पार्नका लागि, बिचौलिया र भ्रष्टाचारीलाई प्रोत्साहन दिनका लागि उनीहरूसँगको मिलेमतोबाट मनपरी गर्नका लागिबाहेक अरू कुनै राम्रो नियत देखिँदैन,” उनले भने ।
 
उनले कसलाई जग्गा कसरी दिने भन्नेबारे छलफल गरेर नीति बनाउनुपर्ने बताए । नेपालले भूमिसम्बन्धी अध्यादेशबारे दोधारे नीति नलिन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आग्रह गरे । “तपाईंहरू (उपेन्द्र यादव) पनि दोधारे तरिका नअपनाउनुस् । यो सरकारबाट केही हुनेवाला छैन । समर्थन गर्छु भन्ने कुराहरू राखेर फेरि अलमलमा नपर्नुस्,” उनले भने ।
 
सरकार देशका निम्ति घाँडो भएको टिप्पणी गरे । “यो सरकार देशका निम्ति घाँडो भएको छ । कुनै हालतमा प्रगति गर्न सक्दैन । कुनै पनि सकारात्मक लक्षण देखाएको छैन । यो सरकार देशका निमित्त ठूलो समस्या बनिरहेको छ,” उनले भने ।
 
उनले अध्यादेश त्यसैको निरन्तरता भएको बताए । प्रतिनिधिसभामा दुईतिहाइ भएको सरकारले राष्ट्रिय सभामा फकाउँला भन्ने सोचेर ल्याएको बताए । तर, नफकिएकोमा यादवलाई धन्यवाद पनि दिए । “राष्ट्रिय सभामा फकाइहालौँला, उपेन्द्र यादवजी पनि फकिनुहुन्छ कि भन्ने ठानेका होलान् । तर, फकिनुभएन, धन्यवाद छ,” नेपालले भने । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सँगै स्वर्ग जाने भन्दा नर्क पुगिएला भन्दै नेपालले कटाक्ष समेत गरे । जसपा नेपालले अध्यादेशबारे ठोस निर्णय नगरेका कारण सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश अन्योलमा परेको छ ।