पठाओ र टुटललाई सरकारको चेतावनी–भाडा लिएर यात्रु नबोक्न आग्रह

पठाओ र टुटललाई सरकारको चेतावनी–भाडा लिएर यात्रु नबोक्न आग्रह


काठमाडौ : सरकारले निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग नगर्न चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीसाधनले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।

यो सूचना कार्यान्वयन भएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् । विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनालले कानूनमा लेखिएको कुरा कार्यान्वयन गर्न लागिएको बताए । उनले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरे ।

यसअघि पनि विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । त्यसपछि पुनः यो विषय साम्य भएको थियो ।

बुधबार आज विभागले सार्वजनिक सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीले भाडा लिएर यात्रु ओसारेको गुनासो आइरहेको भन्दै तुरुन्त त्यस्तो काम बन्द गर्न भनेको छ । सूचनामा यातायात व्यवस्था ऐनको दफा ८ ९१० मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था रहेको स्मरण गराएको छ ।