काठमाडौं। बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजले आयोजना गरेको दुई दिने विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ। ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको एक समारोहबिच समापन गरिएको हो।
विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो।
प्रदर्शनीको समापान समारोहलाई सम्बोधन गर्दै कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले विद्यार्थीले कक्षामा सिकेका ज्ञानलाई एक अर्काबीच साटासाट गर्न प्रदर्शनी निकै फलदायी भएको बताए।
शैक्षिक संस्थाहरुले प्रदान गर्ने ज्ञान र व्यवहारिक, जीवनमुखी तथा अनुसन्धानमुखी हुनुपर्ने बताउँदै सहायक प्रचार्य केसीले भने, ‘विद्यार्थीले हाँसिल गर्ने सिप उत्पादन र बजारसँग मेल खानुपर्छ । यस्तो शिक्षा साउथवेस्टर्न कलेजले प्रदान गर्दै आएको छ।’
विज्ञान प्रदर्शनीमा नीजिसहित सामुदायिक विद्यालय तथा क्याम्पसको समेत सहभागिता रहेको केसीले जानकारी दिए। राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको अहिलेको अवस्थामा शैक्षिक संस्थाहरुले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई गुन लगाएको कलेजका अध्यक्ष इन्जिनियर बासुदेव विष्टले बताए।
विद्यार्थीले सैद्धान्तिक रुपमा जानेको ज्ञान र सिपलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले मद्दत पुर्याउने अपेक्षा गरिएको छ। प्रदर्शनीमा करिव २० हजार जनाले अवलोकन गरेको कलेजले जनाएको छ।
प्रदर्शनीको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो। साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्थाको रुपमा चिनिन्छ।
निजी शैक्षिक संस्थाले गरिव तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले पूर्ण रुपमा उपलब्ध गराइरहेको क्याम्पसले जनाएको छ।
कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सोलार अवलोकन, सांगीतिक कार्यक्रम लगायतका प्रस्तुती रहेको थियो।
प्रदर्शनीमा नीजि तथा सामुदायिक विद्यालय तथा कलेजका विद्यार्थीको तर्फबाट ६० वटा भन्दा बढी स्टलहरु राखिएको थियो। २०६७ सालमा स्थापना भएको यस कलेज हाल साउथवेस्टर्न समुह अन्तर्गत सञ्चालित छ।
यस समूह अन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पिएचडी स्टडिज, साउथवेस्टर्न बिज्नेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टर लगायतका शैक्षिक संस्थाहरु सञ्चालनमा छ। यी संस्थामार्फत हाल प्ले ग्रुपदेखि पिएचडीसम्मको अध्ययन भइरहेको छ।