काठमाडौं। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रका थोरै स्थानमा हुस्सु र तुवाँलो लागेको छ ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले अनुमान गरेको छ । यस्तै, कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको समेत सम्भावना रहेको छ ।
यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।