निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराख्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराख्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपालका इकाइहरूको कार्यसम्पादन, अनुशासन र क्षमता अभिवृद्धिका लागि वार्षिक इकाई निरीक्षण प्रक्रियालाई केवल औपचारिकतामा मात्र सीमित नराख्न कडा निर्देशन दिएका छन्। उनले व्यावसायिकता, कार्यक्षेत्रको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिक तहमा संगठनले आर्जन गरेको जनविश्वासलाई मूल्याङ्कनको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन्।

मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाइहरूको छनौट तथा योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम प्रधान कार्यालयबाट केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरूका लागि सञ्चालन गरिएको अनुशिक्षण तालिमको समापन कार्यक्रममा महानिरीक्षक पौडेलले सो निर्देशन दिनुभएको प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी प्रधान कार्यालयबाट खटिने निरीक्षण टोलीहरूले कुनै पनि पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई तोकिएको कार्यविधि र निष्पक्ष मापदण्डभित्र रहेर इकाइहरूको निरीक्षण गर्नुपर्नेमा उनले जोड दिए। साथै, इकाईभित्र कमान्डर र फौजबीचको सामञ्जस्य, गुनासो व्यवस्थापन र आन्तरिक अनुशासनको अवस्थालाई सूक्ष्म रूपमा केलाउन समेत निरीक्षण टोलीलाई निर्देशन दिइएको छ।

प्रमुख निर्देशनात्मक बुँदाहरू:

  • व्यापक मूल्याङ्कन: निरीक्षण टोली इकाईभित्रका गतिविधिमा मात्र सीमित नरही अन्य सुरक्षा निकाय, स्थानीय सरकारलगायत अन्य सरोकारवाला निकायसँगको समन्वय र सशस्त्र प्रहरीप्रतिको जनविश्वासको वास्तविक मापनसमेत गर्नुपर्ने।

  • नैतिक आचरण: निरीक्षणमा खटिने कमान्डर तथा टोली सदस्यहरू स्वयंले उच्च नैतिक आचरण र व्यावसायिक अनुशासन प्रदर्शन गर्नुपर्ने।

  • उत्तरदायी भूमिका: बाहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा बेसहरूसम्मको भूमिकालाई थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न टोलीहरू गठन गरी प्रदेशस्तरमा खटाइएको।

  • पारदर्शिता र आर्थिक सुशासन: निरीक्षण कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतहरूको नेतृत्वमा विशेष टोली परिचालन गरिएको तथा आर्थिक अनुशासन कायम राख्न लेखा अधिकृतहरूलाई समेत संलग्न गराइएको।

उक्त अनुशिक्षण तालिमको उद्घाटन मंसिर ९ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले गरेका थिए। उनले फरक–फरक टोलीले मूल्याङ्कन गर्दा आउन सक्ने त्रुटिलाई घटाउन र देशभरका युनिटहरूलाई एउटै मापदण्डमा नाप्न यस किसिमको तालिमले सहयोग पुग्ने बताएका थिए। निरीक्षण सम्पन्न भएपश्चात वस्तुनिष्ठ समीक्षा गरी आगामी दिनमा नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण र कार्यविधिगत सुधार गर्दै लगिने योजना रहेको छ।