रिक्त रहेका पदका लागी दौडधुप

काठमाडौं : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेसँगै प्रहरीमा रिक्त रहेका विभिन्न पदका लागि आकांक्षीको दौडधुप तीब्र बनेको छ । रिक्त रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)देखि प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मका पदमा आकांक्षीले बढुवाका लागि लबिङ थालेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित तीन एआईजी र १९ डीआईजीले २८ माघमा अनिवार्य अवकाश पाएका छन् । त्यसअघि ९ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ६ प्रहरी उपरीक्षक (एसपी) र ४५ प्रहरी नायब उपरीक्षकका पदहरु रिक्त भइसकेका थिए । अब एआईजीबाट बढुवा प्रक्रिया सुरु भएसँगै रिक्त पद अरु बढ्नेछन् ।

बढुवा प्रक्रिया सुरु भइनसकेकाले अहिले प्रहरी प्रधान कार्यालयका सबै विभाग र प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुखका भरमा चलिरहेको छ । हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका समकक्षी तारिणीप्रसाद लम्साल आईजीपी नियुक्ति अगावै सुदुरपश्चिम प्रदेश छाडेर काठमाडौं आइसकेका थिए । प्रदेश नं. २ का प्रमुख प्रद्युम्न कार्की पनि अहिले काठमाडौंमै छन् ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा अहिले एसएसपी धिरजप्रताप सिंहले नेतृत्व गरिरहेका छन् । निवर्तमान आईजीपी नारायणसिंह खड्काले अवकाश पाउनुपूर्व उनलाई चार्ज बुझाएर विदा भएका थिए ।

एआईजीको दरबन्दी रहने महत्वपूर्ण विभाग कार्य एवं अपराध अनुसन्धान विभाग पुष्कर कार्कीले एसएसपी घनश्याम अर्याललाई जिम्मा लगाएका थिए । अन्वेषण निर्देशनालय पूर्वप्रमुख डीआईजी केदार रिजालले एसएसपी प्रकाशजंग कार्कीलाई जिम्मा लगाएका छन् ।

नेपाल प्रहरी एकडेमीका एआईजी ठूले राई र डीआईजी रामप्रसाद श्रेष्ठ दुवैले अनिवार्य अवकाश पाएपछि एसएसपी मुकुन्द आचार्यले निमित्त प्रमुखको जिम्मेवारी चलाइरहेका छन् । लागूऔषध नियन्त्रण ब्युरोका निवर्तमान डीआईजी दिनेश अमात्यले एसएसपी वसन्त लामालाई नेतृत्व सुम्पिएका थिए । तर, उनी अहिले भारततिर गएकाले एसपी वीरेन्द्र बस्यालको नेतृत्वमा ब्युरोले काम गरिरहेको छ ।

गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा भने प्रहरीमा रिक्त रहेको विभिन्न पदमा यथाशिघ्र बढुवा सुरु हुने बताउँछन् । सर्वोच्च अदालतले तत्कालीन एसएसपी यादवराज खनालले दायर गरेको रिटमा दरबन्दी खाली भएको तीन महिनाभित्र बढुवा गरिसक्न सरकारलाई निर्देशन दिएको थियो । तर, एसएसपी पद रिक्त भएको १० महिना वितिसकेको छ । सबै कुरा व्यवस्थित भएपछि बढुवाका लागि प्रशासनिक प्रक्रिया आरम्भ हुने बताइएको छ ।