प्रसुति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली अस्पतालमा आन्दोलन

प्रसुति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली अस्पतालमा आन्दोलन

विराटनगर : प्रसुति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली अस्पतालमा मंगलबार पनि तनावग्रत भएको छ । सोमबार बिहान प्रसुतिका लागि अस्पताल भर्ना भएकी रंगेली नगरपालिका – ९ की रवीना सरदार र उनले जन्म दिएको छोराको मृत्यु भएको थियो ।

मृत्युपछि आफन्त र स्थानीयले सोमबार दिनभर अस्पतालमा प्रदर्शन गरेका थिए । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको दाबी गर्दै उनीहरुले मंगलबार पनि प्रदर्शन गरेका छन् । नर्मल डेलिभरीमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रवीना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि प्रदर्शन भएको हो ।

रवीनालाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे नर्मल डेलिभरीमार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन् । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् । आन्दोलित बनेका आफन्तले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन् ।