चीन गएको विमानको क्वारेन्टाइन अवधि पूरा, आजबाट उड्दै

काठमाडौं :चीनको वुहानबाट नेपाली विद्यार्थी लिएर आएको नेपाल एयरलाइन्स ९एनएसी० को वाइडबडी ए३३० जहाज आजबाट उडाइने भएको छ ।

जहाजको क्वारेन्टाइन अवधि पूरा भएछि आजबाट उडाउन लागिएको एनएसीले जनाएको छ । जहाज मंगलबार साँझबाट सेड्युल फ्लाइटमा निस्कने नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख सिनियर क्याप्टेन दीपु ज्वार्चनले जानकारी दिए । ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा गरेर जहाजलाई सुरक्षित राखेका छौं,’ उनले भने, ‘मंगलबार साँझबाट जहाज नियमित उडानमा निस्कन्छ ।’

उनका अनुसार, जहाज साँझ दोहाका लागि उड्दैछ । जहाज अहिले त्रिभुवन विमानस्थलस्थित रिमोट पार्किङ वेमा राखिएको छ । जहाँ नियमित उडानका जहाजसँग यसको कुनै सम्पर्क हुँदैन । विमानस्थलमा आपतकालीन अवस्थामा अन्य यात्रु र विमानलाई क्षति नपुगोस् भनेर गत वर्षमात्र रिमोट पार्किङ वे निर्माण गरिएको हो ।

आइतबार बिहान करिव ४ बजे चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थी बोकेर आएको यो जहाजमा क्याबिन क्रुसहित १७ जनाको टोली थिए । विद्यार्थी र नेपालबाट चीन गएका व्यक्तिहरु भने दुई सातासम्म क्वारेन्टानइमा बस्नुपर्छ । एउटा जहाज क्वारेन्टाइन अवधिमा बस्दासमेत नेपाल एयरलाइन्सले सेड्युलमा राखेका कुनै पनि उडान रद्द नगरिएको सिनियर क्याप्टन ज्वार्चनले जानकारी दिए ।

नेपाल एयरलाइन्ससँग अहिले कुल ४ वटा जहाज छन् । ती जहाजबाट नेपाल एयरलाइन्सले ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ । ‘उडान रद्द गरेनौं, बरु केही ढिला भयो, तर नियमित उडान प्रभावित नहुने गरी समय तालिका मिलाएको बताइएको छ ।