झापामा ६ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

झापा : झापामा छ जान छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले बुद्धशान्ति गाउँपालिका ६ बस्ने २१ वर्षीय नरेन थापालाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

६ जना छात्राका अभिभावकले संयुक्त रूपमा फागुन २ गते प्रहरीमा उजुरी दिएपछि सोही दिन पक्राउ गरिएको उनले बताए । शिक्षक थापामाथि मुद्दा दर्ता गराई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ। आरोपित थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन्।

विद्यालयमा र ट्युसन पढाउने क्रममा शिक्षक थापाले छात्राहरू माथि यौन दुर्व्यवहार गर्दै आइरहेको उजुरी देखिएको प्रहरी उपरीक्षक कोइरालाले भने। बाल यौन दुर्व्यवहार कसुरमा ६ जना पीडित परिवारले दिएको उजुरीका आधारमा अदालतबाट पाँच दिनको म्याद थप गरी मुद्दा दर्ता भइसकेको उनले बताए।