काठमाडौं : चीनको वुहानबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेनटाइनमा ल्याएर राखिएका सबैजनाको नमुना परीक्षण गरिएको छ। क्वारेनटाइनमा रहेका १ सय ७५ जना विद्यार्थीको नमुना लिइएको हो।
चीनको वुहान प्रान्तबाट नेपाल आउन १ सय ८५ जनाले फारम भरे पनि स्वास्थ्य परीक्षणमा शंकास्पद ६ जनालाई चीनमै सुरक्षित राखिएको र ४ जनाले उतै बस्ने निर्णय गरेकाले १ सय ७५ जनामात्र नेपाल आइपुगेका हुन्। उनीहरूको घाँटीको (याल झिकेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। परीक्षणको रिपोर्ट दुई दिनपछि आउनेछ।
उनीहरूको पहिलो चरणको नमुना परीक्षण भएको र दोस्रो चरणको परीक्षण १४ दिनपछि हुने मन्त्रालयले जनाएको छ। दुवै परीक्षण नेगेटिभ भएपछि मात्र उनीहरू घर फर्किन पाउने व्यवस्था छ। क्वारेनटाइनमा चौबीसै घण्टा स्वास्थ्यसेवाको व्यवस्था गरिएको छ। एक मेडिकल अफिसरसहित एक नर्स र दुई जना प्यारामेडिकलसहितको टोली क्वारेनटाइनभित्र छ भने क्वारेनटाइनबाहिर चारजनाको टोली तयारी अवस्थामा राखिएको छ।
क्वारेटनटाइनमा रहेकै अवधिमा कसैमा कोभिड–१९ को संक्रमण भएमा तुरुन्तै उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल लग्ने व्यवस्था मिलाइएको छ। क्वारेन्टाइनमा रहेका सबैलाई १७ दिनपछि मात्र बाहिर निस्कन दिइने खरिपाटी क्वारेटनटाइनका प्रमुख डा। नवीन फुयाँलले बताए।