सिन्धुपाल्चोकमा कोरोना नभएको सम्भावना, नआत्तिन आग्रह

सिन्धुपाल्चोकमा कोरोना नभएको सम्भावना, नआत्तिन आग्रह

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईँले कोरोनाको जस्तो लक्षण देखिएको भए पनि सामान्य भाइरल मात्रै भएको हुन सक्ने बताए । तर यसबारे आफूहरुले अध्ययन गरिरहेको र गाउँमा चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताएका छन् । उनका अनुसार गाउँमा कोही आएको या नआएको बारे थप बुझ्न लगाएको र अध्ययन भइरहेको छ ।

त्यस क्षेत्रमा देखा परेको भाइरल सङ्क्रमणको उपचारमा गाउँपालिकाका स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मी परिचालन गरिएको छ । बिरामीमध्ये १० जना निको भएको र केहीको उपचार भइरहेको प्रमुख चापागाइँले बताए ।

गाउँमा एक सय ५० जनामा रुघाखोकी र ज्वरोको प्रकोप देखिएकोमा एक जना सिकिस्त रहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । त्यहाँ गएको तीन दिनदेखि बिरामीको सङ्ख्या बढेको र गुम्बागाउँमा दुई जना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि र अरु सामग्री पुगेको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताइन ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यहाँको स्वास्थ्य समस्याबारे अध्ययन गर्ने काम भइरहेको जनाएको छ । बिहान मन्त्रालयमा गाउँपालिकाको पत्रबारे छलफल भएको स्वास्थ्य मन्त्रीको सचिवालयले जनाएको छ । लक्षण मिले पनि कोरोना हुन सक्ने सम्भावना निकै कम रहेकाले नआत्तिन पनि सचिवालयले सबैसँग आग्रह गरेको छ । चीनसँग सीमा जोडिएको भए पनि त्यहाँ दुई महिनादेखि नाका बन्द भएकाले चीनबाट मानिस आउने सम्भावना नै नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।