प्रहरीमा गैरव्यवसायिक आचरण निर्ममतापूर्वक निर्मूल गर्नेछु’ : आईजिपी ज्ञवाली

प्रहरीमा गैरव्यवसायिक आचरण निर्ममतापूर्वक निर्मूल गर्नेछु’ : आईजिपी ज्ञवाली

काठमाडौं : नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई गृह प्रशासन मातहतको उत्कृष्ट एवं नमूना संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उनले बताए ।

गृहमन्त्रालयमा बुधबार बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएपछि सम्बोधन गर्दै उनले भने, ‘तालुक गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही गृह प्रशासन मातहतको उत्कृष्ट नमूना संगठनका रुपमा नेपाल प्रहरीलाई स्थापित गराउने अठोट व्यक्त गर्न चाहन्छु ।’

मुलुकमा शान्ति सुरक्षा कायम गर्ने विषयमा सरोकारवाला निकायसँगको सहकार्यलाई अझै विस्तारित गर्नेसमेत उनले बताएका छन् । नेपाल प्रहरी संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकका नैसर्गिक हक, अधिकारको संरक्षण र संवद्र्धन गर्न दृढसंकल्पित रहेको ज्ञवालीले बताए ।

‘कुनै पनि अवाञ्छित ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्णतः नियन्त्रण, निस्तेज गरी कानूनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको छ’, उनले थपे, ‘म प्रहरी महानिरीक्षकको हैसियतले सबैमा विश्वास दिलाउन चाहन्छु, नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यवसायिक, पारदर्शी तबरबाट सम्पादन हुनेछन् ।’

साथै, उनले कुनै प्रकारको अकर्मण्यता, गैरव्यवसायिक आचरण, व्यवहार निर्ममतापूर्वक निर्मूल पारिने पनि बताए ।

गृहमन्त्रालयमा आईजीपीको फुली लगाएपछि ज्ञवालीले प्रहरी प्रधान कार्यालय नक्शालमा पुगेर पदभार ग्रहणसमेत गरिसकेका छन् ।