नुवाकोटमा भारतको सहयोगमा निर्मित विद्यालय भवन अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

नुवाकोटमा भारतको सहयोगमा निर्मित  विद्यालय भवन अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडौं : भारत सरकारको लगानीमा निर्मित एउटा विद्यालयको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले सोमबार नुवाकोटमा उद्घाटन गरेका छन्।

२०७२ सालको भूकम्पपछि पुनर्निर्माण परियोजना अन्तर्गत नुवाकोटको किस्पाङ्मा ऐंसेलुभूमे माध्यमिक विद्यालयको भवन भारतले निर्माण गरिदिएको हो। एक कार्यक्रमबीच उक्त विद्यालय भवन उद्घाटन गरिएको हो। भवन उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ पनि उपस्थित थिए।

भारतीय राजदुतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरले दूतावासको प्रतिनिधित्व गरेकी थिइन् । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस ऐंसेलुभूमे माध्यमिक विद्यालय सन् १९९०(९वि.सं. २०४६ साल) मा स्थापना भएको हो।

यस विद्यालयले करिब ६३७ विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको छ । भारत सरकारको ३९।५७ मिलियन अनुदान सहयोगमा निर्मित यस नयाँ संरचनामा तीनवटा ब्लक रहेका छन्। यस विद्यालयको तीन तल्ले शैक्षिक भवनमा ६ वटा कक्षा कोठा छन्। दुई तल्ले शैक्षिक भवनमा ४ वटा कक्षा कोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालय छ ।

शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले यो परियोजनाको कार्यान्वयन गरेको हो। भूकम्पपछिको पुनर्निर्माण परियोजनालाई सम्पन्‍न गर्नका निमित्त नेपाल सरकार र नेपाली जनतासँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध दूतावासले जनाएको छ।